काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुर मा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू भरतपुर पुग्ने क्रम जारी छ ।
रास्वपाले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतृत्वलाई निमन्त्रणा दिएसँगै चितवनमा राजनीतिक नेताहरूको ठूलो जमघट भइरहेको छ । नेपाली कांग्रेसका सभापति गगन थापा केहीबेरमा चितवन पुग्ने कार्यक्रम छ ।
महाधिवेशनमा भाग लिन पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थल पुगिसकेका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि चितवन पुगिसकेको बताइएको छ । राप्रपा अध्यक्ष लिङ्देन प्रधानमन्त्री बालेन शाहसँगै चितवन पुगेका हुन् ।
रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले आज अपराह्न २ बजे भरतपुरस्थित गेस्टहाउस चौरमा विशेष जर्मन प्रविधिको डोममा महाधिवेशनको उद्घाटन गर्ने छन् ।
देशभरका ७७ जिल्ला तथा विदेशबाट करिब ३ हजारदेखि ३ हजार ५०० सम्म प्रतिनिधि र पर्यवेक्षक चितवन आइपुगेका छन् । उद्घाटनपछि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रको हलमा बन्द सत्र सञ्चालन हुनेछ, जहाँ नयाँ विधान पारित र नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान गरिनेछ ।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार













प्रतिक्रिया