काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका एमाले सांसदहरूको सहभागिता रहेको पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन्। पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको एमालेले जनाएको छ।
पार्टी उपाध्यक्ष विष्णु पौडेल सोमबार पक्राउ परेपछि विकसित परिस्थितिबारे धारणा तय गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो। बैठकमा पौडेल पक्राउ प्रकरण, सरकारको कदम र त्यसपछिका राजनीतिक रणनीतिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
एमालेले आजै साँझ सचिवालय बैठक पनि बोलाएको छ, जहाँ पछिल्लो राजनीतिक घटनाक्रमबारे थप समीक्षा र निर्णय हुने जनाइएको छ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार










प्रतिक्रिया