चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचन सम्पन्न भएसँगै अब पदाधिकारी चयनको प्रतिस्पर्धा रोचक बन्दै गएको छ। विशेषगरी निर्वाचित हुने एक महामन्त्री पदका लागि पाँच जना नेताले दाबी प्रस्तुत गरेका छन्।

पार्टीको विधानअनुसार दुई महामन्त्रीमध्ये एक जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ भने अर्को एक पद निर्वाचन प्रक्रियामार्फत चयन गरिनेछ। यही पदका लागि वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झा चुनावी मैदानमा देखिएका छन्।

advertisement

उनीहरू महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन जुटाउन सक्रिय छन् भने नेतृत्व तहमा सहमतिका आधारमा उम्मेदवार टुंग्याउने प्रयाससमेत जारी रहेको बताइएको छ।

त्यसैगरी, दुई उपसभापति पदका लागि विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारीबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

निर्वाचनबाट चयन हुने तीन सहमहामन्त्री पदका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाईं र डा. अंकिता यादवले दाबी प्रस्तुत गरेका छन्।

रास्वपाको १९ सदस्यीय केन्द्रीय पदाधिकारी समितिमा बाँकी पदहरू भने सभापतिले मनोनयनमार्फत पूर्ति गर्ने व्यवस्था रहेको छ।

पदाधिकारी चयनमा सहमतिको सम्भावना खोज्न शीर्ष नेतृत्वबीच छलफल जारी रहेको स्रोतले जनाएको छ। सहमति कायम हुन नसकेमा अन्तिम विकल्पका रूपमा मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिने नेताहरूको भनाइ छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com