काठमाडौं। नेपाल सरकारले साउदी अरेबियाले लागू गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र वैदेशिक रोजगारीमा अवरोध नआओस् भन्ने उद्देश्यले सरकारले यो आग्रह गरेको हो।
रामजी यादवले नेपालका लागि फहद मोहम्मद अल–म्निखरसँग भएको शिष्टाचार भेटमा सीप प्रमाणीकरण प्रक्रिया तत्काल रोक्न तथा नेपाली श्रमिकको भिसा प्रक्रिया यथावत् सञ्चालन गर्न विशेष अनुरोध गरेका हुन्।
भेटका क्रममा मन्त्री यादवले हाल साउदी अरेबिया जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सीप प्रमाणीकरणसम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारीमा कुनै बाधा नपर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरे।
उनले सीप प्रमाणीकरणसँग सम्बन्धित विषयहरू द्विपक्षीय परामर्श र आपसी सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिए।
जवाफमा राजदूत अल–म्निखरले यस विषयमा साउदी सरकारसँग आवश्यक परामर्श गरी थप जानकारी उपलब्ध गराइने बताएका छन्।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया