काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले उपसभापतिमा पराजयपछि पनि आफू पार्टीको आवाज बनेर निरन्तर रहिरहने बताएकी छन्।
उपसभापति पदमा सोविता गौतमसँग पराजित भएकी कार्कीले बलियो सङ्गठन, निडर नेतृत्व र स्पष्ट विचार सधैं बोकिरहने उल्लेख गरेकी छन्।
उनले भनिन्, “सुरुवाती दिनदेखि क्रमशः पार्टीमा जोडिँदै पार्टी निर्माण र सबलीकरणको यात्रामा दिनरात सङ्घर्ष तथा योगदान दिनु भएका सबै घण्टीमित्रलाई सम्झन चाहन्छु। बलियो सङ्गठन, निडर नेतृत्व र स्पष्ट विचार सधैं बोकिरहनेछु। महाधिवेशनको यो यात्रामा तपाईंहरूको अथाह माया, साथ र विश्वासको साक्षी बन्न पाउनु मेरा लागि गर्वको विषय हो। पार्टीको आवाज हुँ, रहिरहनेछु।”
पहिलो चरणको मतदानमा खसेको २ हजार ९ सय ६९ मतमध्ये कार्कीले २ हजार ३ सय २ मत प्राप्त गरेकी थिइन्। दोस्रो चरणमा खसेको १ हजार ३ सय ६१ मतमध्ये उनले ५ सय ७२ मत प्राप्त गरेकी छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, युवा समर्थक तथा सम्पूर्ण कार्यकर्ताप्रति उनले धन्यवाद व्यक्त गरेकी छन्।
प्रकाशित मिति: १३ असार २०८३, शनिबार













प्रतिक्रिया