नेपाली राजनीतिक इतिहासमा विक्रम संवत २०८२ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले एउटा अभूतपूर्व युगान्तकारी परिवर्तनको सूत्रपात गरिदिएको छ। दशकौदेखि सत्ता र शक्तिमा एकाधिकार जमाउँदै आएका परम्परागत राजनीतिक शक्तिहरूका विरुद्ध युवा पुस्ताको यो विद्रोह केवल सामान्य सडक आन्दोलन मात्र थिएन। यो त वर्षौदेखि राज्य सञ्चालनका हरेक संयन्त्रमा व्याप्त कुशासन, भ्रष्टाचार र नीतिगत विचलनका विरुद्ध नेपाली नागरिकहरूको सञ्चित आक्रोशको ऐतिहासिक विस्फोटन थियो। यस विद्रोहले देशमा वर्षौदेखि जकडिएको कङ्गाल राजनीतिक संस्कृति र दलीय सिन्डिकेटको जगलाई जरैदेखि हल्लाइदियो र नयाँ युगको सूत्रपात गर्यो।
यसै जनविद्रोहको जगमा सम्पन्न आम निर्वाचन मार्फत नेपाली मतदाताहरूले पुराना शक्तिहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै नयाँ र वैकल्पिक सोच बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुई-तिहाइको प्रचण्ड बहुमत सुम्पिए। हाल सोही नवीन शक्तिले सत्ता सञ्चालन गरिरहेको अवस्था छ, जसले देशको शासन सञ्चालनमा ठुलो गुणात्मक परिवर्तन ल्याएको छ। जनताले पुराना दलहरूको खोक्रो इतिहासलाई भन्दा वर्तमानको कार्यक्षमता, पारदर्शिता र भविष्यको मार्गचित्रलाई हेरेर मतदान गरे। फलस्वरूप, परम्परागत शक्तिका बलिया किल्लाहरू क्षणभरमै भत्किए र नयाँ पुस्ताको नेतृत्वले देशको बागडोर सम्हाल्ने वैधानिक अवसर प्राप्त गर्यो।
यति ठुलो राजनीतिक धक्का व्यहोर्दा पनि पुराना राजनीतिक दलहरूले आफ्नो पराजय र जनताको असन्तोषलाई सही ढङ्गले आत्मसात् गर्न सकेको कतै देखिदैन। निर्वाचनपछि उनीहरूले जसरी गम्भीर आत्मसमीक्षा गर्नुपर्ने थियो, त्यो सही दिशा र सही तरिकाले भएको पाइदैन। उल्टै पुराना दलका शीर्ष नेताहरूका हालैका सार्वजनिक भाषण र अभिव्यक्तिहरूलाई सूक्ष्म रूपमा नियाल्दा उनीहरू अझै पनि अहङ्कार र भ्रमको जालोबाट मुक्त हुन नसकेको प्रस्ट हुन्छ। वास्तविक धरातल भन्दा धेरै टाढा रहेर उनीहरूले गरिरहेको अपरिपक्व विश्लेषणले उनीहरूको राजनीतिक भविष्य अझ ओरालो लाग्ने निश्चित प्रायः देखिन्छ।
निगमनात्मक पद्धतिको गलत राजनीतिक प्रयोग
राजनीति शास्त्रको अनुसन्धान र विश्लेषणमा स्थापित सिद्धान्त वा सामान्य नियमबाट सुरु गरेर विशिष्ट घटनाको निष्कर्ष निकाल्ने प्रक्रियालाई निगमन पद्धति भनिन्छ। परम्परागत राजनीतिक दल र तिनका नेताहरूले आफ्नो महापराजयको समीक्षा गर्दा ठ्याक्कै यही निगमन पद्धतिको गलत प्रयोग गरिरहेका छन्। उनीहरूको स्थापित मान्यता यो छ कि उनीहरूले प्रजातन्त्र ल्याउन लडे, त्यसैले जनता सधै उनीहरूकै पक्षमा हुनुपर्छ। यही असान्दर्भिक भइसकेको स्थापित सिद्धान्तलाई आधार मानेर उनीहरूले आजको विशिष्ट घटना अर्थात् जेन जी आन्दोलन र नयाँ दलको ऐतिहासिक विजयलाई अपव्याख्या गरिरहेका छन्।
नेताहरूका भाषण सुन्दा उनीहरू सोच्दछन् कि जनताले उनीहरूको इतिहासलाई भुलेका कारण वा सामाजिक सञ्जालको क्षणिक भ्रममा परेर मात्र नयाँ शक्तिलाई भोट दिएका हुन्। यो उनीहरूको सैद्धान्तिक कडापन र जडताको जीवन्त नमुना हो। निगमन पद्धति तब मात्र सफल हुन्छ जब त्यसको आधारभूत मान्यता वा पूर्वनिर्णय सत्य र समय सापेक्ष हुन्छ। तर, पुराना दलहरूको हकमा इतिहासको योगदानले वर्तमानको कुशासनलाई वैधता दिन्छ भन्ने पूर्वनिर्णय नै गलत भइसकेको छ। उनीहरूले जनताको बदलिदो मनोविज्ञान र निराशालाई बुझ्नुको साटो आफ्नै पुराना दस्तावेजको चस्माबाट आजको यथार्थलाई हेरिरहेका छन्।
यस प्रकारको त्रुटिपूर्ण समीक्षाले पुराना दलहरू भित्र आन्तरिक सुधारको सम्भावनालाई पूर्ण रूपमा बन्द गरिदिएको छ। जब नेताहरू आफूलाई निर्दोष र जनता वा परिस्थितिलाई दोषी देख्छन्, तब त्यहाँ रूपान्तरणको ढोका बन्द हुन्छ। उनीहरूले सोचेका छन् कि केही समय पर्खिएपछि जनता आफै पुरानै ठाउँमा फर्किनेछन्। यो सोचाइले उनीहरूलाई आत्मरति र काल्पनिक संसारमा मात्र सीमित राखेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार पुराना दलहरूले गरिरहेको यो माथिल्लो तहबाट भुईतहतर्फको विश्लेषणले उनीहरूलाई भुईमान्छेको वास्तविक पीडा र आक्रोशबाट झन् टाढा धकेलिरहेको छ।
विशिष्ट घटनाको वस्तुनिष्ठ अध्ययन नगरी केवल पूर्वनिर्धारित मान्यतामा जोड दिदा निष्कर्ष सधै गलत र हानिकारक निस्कन्छ। पुराना दलका दोस्रो र तेस्रो तहका युवा नेताहरूले भुइतहको वास्तविकता अलि-अलि बुझे पनि शीर्ष नेतृत्वको वैचारिक एकाधिकारका कारण उनीहरू पनि पुरानै ढर्राको व्याख्या सुन्न र सुनाउन बाध्य छन्। यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र वैचारिक बहसलाई समेत मृतप्रायः बनाइदिएको छ। सिद्धान्त र व्यवहारबीचको यो ठुलो खाडल नै पुराना दलहरूको वर्तमान संकटको मुख्य कारण हो, जसलाई उनीहरू अझै पहिचान गर्न सकिरहेका छैनन्।
संक्षेपमा भन्नुपर्दा, पुराना दलहरूको आत्मसमीक्षा प्रक्रिया पूर्ण रूपमा पूर्वाग्रह र पुरानै वैचारिक अहङ्कारमा आधारित देखिन्छ। उनीहरूले आफू ढल्नुको कारण आफ्नै भ्रष्ट आचरण, नातावाद, कृपावाद र नीतिगत विचलन हो भन्ने कुरा स्वीकार गर्नै चाहँदैनन्। बरु, उनीहरू यो ऐतिहासिक परिवर्तनलाई बाह्य शक्तिको चलखेल वा जनताको अपरिपक्वता भनेर पन्छाउन खोजिरहेका छन्। यो निगमनात्मक त्रुटिले पुराना दलहरूलाई सच्चिने अन्तिम अवसरबाट पनि बञ्चित गर्दै इतिहासको पतनतर्फ धकेल्ने निश्चित छ।
आगमनतात्मक विधि र भुईतहको यथार्थ
जहाँ निगमन पद्धति असफल हुन्छ, त्यहाँ राजनीति शास्त्रमा आगमन पद्धतिको भूमिका र अपरिहार्यता सुरु हुन्छ। आगमन पद्धतिले कुनै पनि पूर्व-स्थापित धारणा वा सिद्धान्त बिना सिधै कार्यक्षेत्रमा गएर सूक्ष्म अवलोकन गर्ने, तथ्यहरू संकलन गर्ने र त्यसका आधारमा नयाँ निष्कर्ष वा सिद्धान्तको निर्माण गर्ने काम गर्छ। आजको सन्दर्भमा पुराना राजनीतिक दलहरूले आफ्नो अस्तित्व जोगाउनका लागि पूर्ण रूपमा आगमन पद्धति अपनाएर समीक्षा गर्नुपर्ने थियो। उनीहरू सडकमा, चियापसलमा र नागरिकका घर-घरमा गएर जनताको घृणाको वास्तविक कारक खोज्नुपर्ने थियो।
यदि उनीहरूले आगमनतात्मक तरिकाले अध्ययन गरेको भए उनीहरूले स्पष्ट रूपमा एउटा साझा ढाँचा फेला पार्ने थिए। त्यो ढाँचा युवाहरूमा रोजगारीको अभाव, राज्यका निकायहरूमा व्याप्त भ्रष्टाचार, पुराना नेताहरूको बारम्बारको सत्तालिप्सा र नयाँ प्रविधिको प्रयोग मार्फत संगठित भएको युवा चेतनासँग जोडिएको हुन्थ्यो। यी विशिष्ट तथ्यहरूलाई संकलन गरेर मात्र उनीहरूले आजको राजनीतिको नयाँ नियम बुझ्न सक्ने थिए। आगमन पद्धतिले नेताहरूलाई आफ्नो अहङ्कार त्यागेर जनताको सेवकका रूपमा उनीहरूको भावना सुन्न र सिक्न सघाउने थियो, जुन यो समयको माग हो।
तर विडम्बना, पुराना दलहरू भुईतहको यो यथार्थ र बदलिदो सामाजिक-राजनीतिक मनोविज्ञानलाई स्विकार्न तयार भएनन्। राजनीति शास्त्रमा आगमन पद्धतिले सधै कस्तो भइरहेको छ भन्ने अनुभवजन्य यथार्थलाई उजागर गर्छ, न कि कस्तो हुनुपर्थ्यो भन्ने आदर्शलाई। पुराना दलहरू आदर्श र इतिहासको गफमै अल्झिए, जबकि राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको यही वास्तविक र तात्कालिक समस्याहरूलाई आगमनतात्मक रूपमै समातेर उनीहरूको मन जित्न सफल भयो। नयाँ पुस्ताको भावना, प्रविधिको शक्ति र सुशासनको तीव्र भोकलाई नबुझी अबको राजनीति अगाडि बढ्न सक्दैन भन्ने यथार्थ आगमन पद्धतिले मात्र सिकाउँछ।
आगमनतात्मक समीक्षाले पुराना दलहरूलाई आफ्ना गल्तीहरू महसुस गराउने वस्तुनिष्ठ ठाउँ उपलब्ध गराउँथ्यो। यसले उनीहरूलाई पुराना र अक्षम नेताहरूलाई बिदाइ गर्न, पार्टीको संरचनामा आमूल परिवर्तन गर्न र नीतिगत रूपमा नयाँ एजेन्डाहरू तय गर्न बाध्य पार्थ्यो। जबसम्म विशिष्ट तथ्यहरूलाई स्विकारिदैन, तबसम्म कुनै पनि नयाँ र गतिशील अवधारणाको विकास हुन सक्दैन। नेपालको राजनीति अहिले जुन नयाँ मार्गमा हिडिरहेको छ, त्यसलाई बुझ्नका लागि पुराना शास्त्र र पुराना अनुभवहरू पूर्ण रूपमा असान्दर्भिक भइसकेका छन्।
त्यसैले, पुराना दलहरूका लागि अबको एकमात्र विकल्प भनेको आफ्ना पुराना दम्भ र पूर्वाग्रहलाई त्यागेर जनताको अदालतमा नाङ्गो खुट्टा जानु र वास्तविकताको अध्ययन गर्नु नै हो। जेन जी आन्दोलन कुनै आकस्मिक दुर्घटना मात्र थिएन, यो त वर्षौदेखि सञ्चित भएको आक्रोशको विस्फोट थियो। यो विशिष्ट घटनालाई एउटा बलियो तथ्याङ्क मानेर यदि पुराना दलहरूले आफ्नो विचार, व्यवहार र नेतृत्वमा आगमनतात्मक विधिबाट शल्यक्रिया गरेनन् भने उनीहरूको राजनीतिक नामोनिसान मेटिने निश्चित छ।
भाषणबाजीमा अल्झिएको राजनीतिक अहङ्कार
वर्तमान समयमा पुराना दलका शीर्ष नेताहरूले सञ्चार-माध्यम र सार्वजनिक मञ्चहरूमा दिइरहेका अभिव्यक्तिहरू केवल आत्मरक्षाका खोक्रा प्रयास मात्र हुन्। उनीहरूका भाषणहरूमा जनभावनाप्रतिको सम्मान होइन, बरु आक्रोश र प्रतिशोधको गन्ध प्रस्ट रूपमा आउँछ। उनीहरूले संसद् र सडकमा गर्ने तर्कहरूले उनीहरू जनताको वास्तविक समस्या भन्दा कति टाढा छन् भन्ने कुरा प्रमाणित गर्छ। नयाँ शक्तिलाई गाली गरेर वा उनीहरूको खोट देखाएर आफ्नो भत्किएको घर सप्रिदैन भन्ने सामान्य हेक्का समेत यी नेताहरूमा हराएको देखिन्छ।
राजनीति शास्त्रमा वैज्ञानिक अनुसन्धान तब मात्र पूर्ण हुन्छ जब आगमन र निगमन पद्धतिको सन्तुलित चक्र निर्माण हुन्छ। यसको अर्थ भुइतहबाट तथ्य संकलन गर्ने र त्यसका आधारमा आफ्ना पुराना सिद्धान्तहरूलाई परिमार्जन गर्दै लैजाने हो। तर पुराना दलहरू यस चक्रलाई तोडेर केवल एकतर्फी जिद्धी गरिरहेका छन्। उनीहरू आफूलाई सर्वज्ञानी ठान्छन् र जनतालाई अज्ञानी, जसले गर्दा उनीहरूको राजनीतिक संवाद पूर्ण रूपमा अवरुद्ध भएको छ। यो अहङ्कारले उनीहरूलाई सुधारको मार्गबाट विमुख गराएर विनाशतर्फ धकेलिरहेको छ।
परम्परागत दलहरू भित्रको यो वैचारिक संकटले देशको समग्र लोकतान्त्रिक सन्तुलनमा समेत नकारात्मक असर पार्न सक्छ। एउटा बलियो र रचनात्मक प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक हुन्छ, तर पुराना दलहरू रचनात्मक हुनुको साटो संकीर्ण बन्दै गएका छन्। उनीहरूले संसद्लाई जनताका मुद्दा उठाउने थलो बनाउनुको साटो नयाँ सरकारको विरोध गर्ने र पुराना विशेषाधिकार खोज्ने माध्यम मात्र बनाएका छन्। यसले उनीहरूप्रति बाँकी रहेको थोरै जनविश्वास पनि दिनानुदिन समाप्त पार्दै लगेको छ।
नेपालको नयाँ पुस्ता प्रविधिको माध्यमबाट संसारलाई हेरिरहेको छ र ऊ छिटो परिणाम चाहन्छ। पुराना नेताहरूले गर्ने लामो र सारहीन भाषण सुन्ने फुर्सद आजका युवाहरूसँग छैन। युवाहरू काम, रोजगारी, गुणस्तरीय शिक्षा र भ्रष्टाचारमुक्त प्रशासन चाहन्छन्। पुराना दलहरूले आफ्ना भाषणमा यी मुद्दाहरूलाई ठोस रूपमा सम्बोधन गर्नुको साटो अझै पनि पुराना क्रान्ति र आन्दोलनका गाथाहरू मात्र सुनाइरहेका छन्। यो शैली आजको बजारमा पूर्ण रूपमा बिक्न छाडिसकेको छ।
अतः पुराना दलहरूले आफ्ना भाषण र व्यवहारमा तत्कालै ठुलो परिवर्तन ल्याउनुको विकल्प छैन। गालीको राजनीतिले होइन, कार्यक्षमताको राजनीतिले मात्र अबको जनमत निर्धारण गर्नेछ। उनीहरूले आफूलाई सुधार्नका लागि भाषणबाजी छोडेर मौनताका साथ जनताका कुरा सुन्न सिक्नुपर्छ। यदि उनीहरूले आफ्नो यो शैली र सोचमा परिवर्तन गरेनन् भने, आगामी निर्वाचनहरू उनीहरूका लागि अझ बढी घातक र लज्जास्पद सावित हुनेछन्।
निष्कर्ष तथा आगामी मार्गचित्रका सुझावहरू
नेपालको राजनीतिमा २०८२ को जेन जी आन्दोलन र त्यसपछिको निर्वाचन परिणामले एउटा स्पष्ट र अकाट्य सन्देश दिएको छ। नेपाली जनता अब परम्परागत आश्वासन र इतिहासको ब्याज तिर्न तयार छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले दुई-तिहाइ बहुमत सहित सरकार सञ्चालन गरिरहेको वर्तमान अवस्थाले देशमा नयाँ राजनीतिक मानक स्थापना गरेको छ। यस परिस्थितिमा पुराना दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि अझै पनि परम्परागत अहङ्कार प्रदर्शन गरिरहनु आत्मघाती कदम साबित हुनेछ।
पहिलो सुझावका रूपमा, पुराना राजनीतिक दलहरूले आफ्नो समीक्षाको तरिका तत्काल बदल्नुपर्छ। उनीहरूले हामीले देशमा यो ल्याएका थियौ भन्ने निगमनात्मक सोचलाई पूर्ण रूपमा बन्द गरी हामीबाट कहाँ गल्ती भयो भन्ने आगमनतात्मक पद्धति अपनाउनु पर्छ। यसका लागि केन्द्रदेखि गाउँ तहसम्मका नागरिकको गुनासो र आक्रोशलाई विना कुनै प्रतिवाद सुन्ने र संकलन गर्ने विशेष अभियान चलाउनु आवश्यक छ। जनताको भावनालाई वस्तुनिष्ठ रूपमा स्वीकार नगरेसम्म सुधारको पहिलो पाइला पनि चाल्न सम्भव हुँदैन।
दोस्रो सुझाव, पुराना दलहरूले आफ्नो शीर्ष नेतृत्वमा रहेका पुराना, असक्षम र जनतामाझ अलोकप्रिय भइसकेका अनुहारहरूलाई ससम्मान बिदाइ गर्नैपर्छ। नयाँ पुस्ताका युवाहरू राजनीतिको नीति निर्माण तहमा पुग्न चाहन्छन्, उनीहरू केवल झण्डा बोक्ने कार्यकर्ता मात्र बन्न तयार छैनन्। पार्टीको नीति, सिद्धान्त र संगठनको पुनर्संरचना गरी नयाँ प्रविधि, सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र कोर्न सक्ने युवा नेतृत्वलाई अगाडि सार्नुपर्छ। विचार र नेतृत्व दुवैमा नवीनता नआएसम्म पुराना दलहरूप्रतिको जनविश्वास पुनः प्राप्त हुन सक्दैन।
अन्त्यमा, राजनीति सधै गतिशील र परिणाममुखी हुनुपर्छ। सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनताको यो प्रचण्ड मत र भरोसालाई डगमगाउन नदिई डेलिभरी र सुशासनमा केन्द्रित हुनुपर्ने दायित्व छ। पुराना दलहरूका लागि यो समय रोइलो गर्ने वा नयाँ शक्तिको खुट्टा तान्ने समय होइन, बरु आफूलाई पूर्ण रूपमा रूपान्तरण गर्ने अन्तिम अवसर हो। आगमन पद्धतिको मर्मअनुसार समाजको बदलिदो यथार्थलाई आत्मसात् गर्दै अगाडि बढे मात्र नेपालको लोकतन्त्र थप सुदृढ र समृद्ध बन्न सक्नेछ।
(लेखक नेपाली सेनाका पूर्व सैनिक अधिकृत र राजनीतिशास्त्रका अध्येता हुन्।)
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया