काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) निर्यात समितिका सभापति होमप्रसाद घिमिरेले नेपाललाई केवल बजारका रूपमा नभई उत्पादन, नवप्रवर्तन, दिगोपना र क्षेत्रीय एकीकरणका लागि दीर्घकालीन रणनीतिक साझेदारका रूपमा हेर्न चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई आग्रह गरेका छन्।
चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (CCPIT) द्वारा आयोजित नेपाल–चीन व्यापार तथा लगानी मञ्च २०२६ लाई सम्बोधन गर्दै उनले नेपाल–चीनबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अवसर अहिले उपलब्ध रहेको बताए।
उनले नेपाल र चीनबीचको सम्बन्ध केवल भौगोलिक निकटतामा सीमित नभई शताब्दीयौँ पुरानो सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, औद्योगिक सहकार्य, प्रविधि हस्तान्तरण र दिगो लगानीमार्फत द्विपक्षीय सहकार्यलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए।
घिमिरेले एफएनसीसीआई निर्यात समितिले निर्यात प्रवर्द्धन, लगानी आकर्षण, व्यापारमैत्री नीतिको वकालत, अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार, उद्यमशीलता विकास तथा विदेशी लगानी प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। समितिले सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै नेपालको औद्योगिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न काम गरिरहेको उनको भनाइ थियो।
नेपाल अहिले राजनीतिक स्थायित्व, पूर्वाधार विकास, ऊर्जा उत्पादन वृद्धि, डिजिटल रूपान्तरण तथा क्षेत्रीय सम्पर्क विस्तारसँगै आर्थिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले सरकारले लगानीमैत्री वातावरण निर्माण, नीतिगत स्थिरता, नियामकीय प्रक्रियाको सरलीकरण तथा व्यवसाय गर्न सहज वातावरण सिर्जना गर्न प्राथमिकता दिएको बताए।
उनले नेपाल चीन र भारतजस्ता विश्वका दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले उत्पादन र निर्यातका लागि अत्यन्तै रणनीतिक गन्तव्य रहेको बताए। प्रतिस्पर्धी श्रमशक्ति, प्राकृतिक स्रोतसाधन तथा व्यापारिक सुविधाले नेपाललाई विदेशी लगानीका लागि थप आकर्षक बनाएको उनको भनाइ थियो।
घिमिरेले कपडा, तयारी पोशाक, गलैंचा, पश्मिना, कश्मिरजन्य वस्तु, हस्तनिर्मित कागज, छालाजन्य वस्तु, जडीबुटी तथा हस्तकलाका क्षेत्रमा चिनियाँ लगानीबाट उत्पादन क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता उल्लेखनीय रूपमा वृद्धि हुन सक्ने बताए।
त्यस्तै चिया, कफी, मसला, औषधिजन्य तथा सुगन्धित वनस्पति, फलफूल, मह, बदाम तथा जैविक कृषि उत्पादनमा प्रशोधन उद्योग, कोल्ड चेन, प्याकेजिङ, गुणस्तर प्रमाणीकरण तथा निर्यात बजार विस्तारमा चिनियाँ लगानीको ठूलो सम्भावना रहेको उनले उल्लेख गरे।
पर्यटन पूर्वाधार, होटल, सम्मेलन केन्द्र, स्वास्थ्य पर्यटन, साहसिक पर्यटन तथा सांस्कृतिक पर्यटनमा समेत नेपालले उल्लेखनीय अवसर प्रदान गरेको बताउँदै उनले विशेष आर्थिक क्षेत्र (SEZ), औद्योगिक क्षेत्र तथा निर्यातमुखी औद्योगिक क्लस्टरमा संयुक्त लगानी र प्रविधि हस्तान्तरणका लागि चिनियाँ निजी क्षेत्रलाई आमन्त्रण गरे।
उनले व्यापार सहजीकरण, भन्सार प्रणाली सुधार, मापदण्डको समन्वय, डिजिटल व्यापार प्रणाली, सीमा पार सम्पर्क तथा लगानी सहजीकरणका क्षेत्रमा थप सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता सुधारले नेपाल–चीन व्यापार तथा लगानी प्रवाहलाई उल्लेखनीय रूपमा बढाउने विश्वास व्यक्त गरे।
घिमिरेले प्रविधि हस्तान्तरण, सीप विकास, रोजगारी सिर्जना, वातावरणीय दिगोपना तथा समावेशी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने लगानीले दुवै मुलुकलाई दीर्घकालीन लाभ पुग्ने बताए।
उनले एफएनसीसीआई निर्यात समिति CCPIT, चिनियाँ व्यापारिक संस्था, लगानीकर्ता तथा सरकारी निकायसँग सहकार्य गर्दै व्यापारिक साझेदारीलाई ठोस लगानीमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले नेपाल–चीन व्यापार तथा लगानी मञ्चलाई केवल छलफलको थलोमा सीमित नराखी ठोस लगानी, रणनीतिक साझेदारी र दीर्घकालीन आर्थिक सहकार्यको आधार बनाउन आग्रह गर्दै चिनियाँ लगानीकर्ता तथा उद्यमीहरूलाई नेपालको विशाल सम्भावनाको लाभ उठाउन आह्वान गरे।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार












प्रतिक्रिया