नवलपरासी। नवलपरासीका लुम्बिनी चिनी मिल र बागमती खाँडसारी चिनी मिलले उखु किसानको भुक्तानी लामो समयदेखि रोकिराखेको भन्दै गुनासो बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता विजय कँडेलले उद्योगमै पुगेर वस्तुस्थिति बुझेका छन्। उनले सुस्ता–३, कुडियास्थित बागमती खाँडसारी चिनी मिलको अनुगमन गर्दै उद्योग व्यवस्थापनसँग छलफल गरेका हुन्।

छलफलका क्रममा कँडेलले किसानको पसिनाको मूल्य समयमै उपलब्ध गराउन र बाँकी सम्पूर्ण भुक्तानी तत्काल गर्न उद्योग व्यवस्थापनलाई आग्रह गरेका छन्। किसानले उत्पादन गरेको उखुको मूल्य महिनौँसम्म रोकिराख्नु कुनै पनि दृष्टिले स्वीकार्य नहुने भन्दै उनले उद्योग, सम्बन्धित निकाय र सरकार सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्।

किसानले गरेको श्रमको उचित मूल्य समयमै सुनिश्चित गर्न आफू निरन्तर खबरदारी र दबाबमूलक भूमिकामा रहने उनले बताएका छन्। किसानको अधिकार सुनिश्चित गर्नु राज्य र उद्योग दुवैको दायित्व भएको उल्लेख गर्दै उनले ढिलाइ नगरी भुक्तानी प्रक्रिया टुंग्याउन आग्रह गरेका छन्।

कँडेलले निर्धारित समयभित्र किसानको बक्यौता रकम भुक्तानी नभए उखु किसानसँगै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। साथै, किसानको रकम रोकिराख्ने उद्योगमाथि कानुनबमोजिम आवश्यक कारबाही गराउन सरकारसँग पहल गर्ने पनि उनले बताएका छन्।

किसानमाथिको आर्थिक अन्याय अब धेरै दिनसम्म सहन नसकिने उल्लेख गर्दै कँडेलले सम्बन्धित उद्योग, सरकार र सरोकारवाला निकायलाई समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन्। किसानको श्रमको सम्मान गर्दै समयमै भुक्तानी सुनिश्चित गर्न सके मात्र कृषि क्षेत्रप्रतिको विश्वास कायम रहने उनको भनाइ छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com