काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत इ–पासपोर्ट सेवा सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ।
विभागले शुक्रबार जारी गरेको अत्यावश्यक सूचनामार्फत हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रविधिमा रूपान्तरण गरिने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भइसकेको जानकारी दिएको हो।
विभागका अनुसार नयाँ प्रणालीमा स्थानान्तरण गर्ने क्रममा केही दिन राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुनेछ। सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिन बन्द रहनेछ। यस्तै, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने सेवा असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुनेछ।
विभागले भने असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना गर्दै सहयोगका लागि सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
यससँगै नेपालमा नयाँ इ–पासपोर्ट छपाइको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। राहदानी छपाइको ठेक्का पाएको जर्मन कम्पनीले नयाँ प्रणाली सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भएको जानकारी विभागलाई लिखित रूपमा गराइसकेको स्रोतले जनाएको छ। कम्पनीले नेपालमा खटिने आफ्ना प्राविधिक कर्मचारीहरूको सुरक्षाको व्यवस्था मिलाइदिन पनि सरकारसँग औपचारिक अनुरोध गरेको बताइएको छ।
राहदानी छपाइ ठेक्का प्रकरण केही सातायता विवादमा तानिएको थियो। प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले असार १ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई सिंहदरबारमा बोलाएर करिब ८-९ घण्टा ‘थुनेर’ राहदानी ठेक्का प्रकरणमा मुद्दा चलाउन बाध्य पारेका थिए। त्यसलगत्तै अख्तियारले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल केसी लगायतका व्यक्तिविरुद्ध अनुसन्धान तीव्र बनाउँदै गत साता १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यद्यपि, प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको दबाबका बाबजुद परराष्ट्रमन्त्रीले जर्मन कम्पनीबाटै नयाँ पासपोर्ट छपाउने काम अघि बढाउन भने पछि असार २९ देखि जर्मन प्रणालीबाट पासपोर्ट छापिने भएको हो।

प्रकाशित मिति: २० असार २०८३, शनिबार













प्रतिक्रिया