काठमाडौं। काभ्रेपलाञ्चोकको कोसीपारीस्थित सिम्थलीको सामान्य परिवेशबाट संघर्षपूर्ण यात्रा सुरु गर्दै राजधानीको पर्यटकीय केन्द्र ठमेलमा सफल पर्यटन व्यवसायी र समाजसेवीका रूपमा आफ्नो पहिचान स्थापित गर्नुभएका युवा व्यवसायी प्रकाश श्रेष्ठले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

परिषद्को ३०औँ तथा ३१औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि आगामी असार २७ गते (११ जुलाई २०२६) काठमाडौंको नयाँबजार मल्टि भेन्युमा हुने निर्वाचनमा श्रेष्ठ उपाध्यक्ष पदका प्रत्याशीका रूपमा मैदानमा उत्रिएका हुन।

श्रेष्ठले सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री, लगानीमैत्री र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा ठमेलको विकास गर्ने स्पष्ट दृष्टि र योजनासहित उम्मेदवारी घोषणा गरेका छन् ।

वर्षौंदेखि ठमेलको पर्यटन तथा आतिथ्य क्षेत्रमा सक्रिय श्रेष्ठले व्यवसायसँगै पर्यटन क्षेत्रका चुनौती, सम्भावना र समाधानबारे गहिरो अनुभव हासिल गरेका छन । श्रेष्ठले ठमेलको समग्र विकास नै नेपालको पर्यटन उद्योगलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन ।

श्रेष्ठका अनुसार आफ्नो उम्मेदवारी कुनै पद प्राप्तिको उद्देश्यमा मात्र सीमित नभई पर्यटन क्षेत्रको पुनर्जागरणको अभियान हो।

उनले कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित पर्यटन व्यवसायलाई पुनर्जीवित गर्ने, व्यवसायीबीच विश्वास र सहकार्यको वातावरण निर्माण गर्ने, नयाँ पुस्ताको नेतृत्वलाई संस्थागत गर्ने तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि थप सुरक्षित, व्यवस्थित र आकर्षक ठमेल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“ठमेल केवल एउटा व्यापारिक क्षेत्र होइन, यो नेपालको पर्यटनको परिचय हो। यहाँका घरधनी, व्यवसायी, श्रमिक, पर्यटक तथा सम्पूर्ण सरोकारवालाको साझा हितलाई केन्द्रमा राखेर परिणाममुखी नेतृत्व दिने मेरो प्रतिबद्धता छ,” श्रेष्ठले भने ।

पर्यटन व्यवसायसँगै समाजसेवामा पनि सक्रिय श्रेष्ठले २०७२ सालको विनाशकारी भूकम्पपछि काभ्रेपलाञ्चोकका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा राहत समेत वितरण गरेका थिए।

यस्तै, कोभिड–१९ महामारीका कठिन समयमा विद्यालय, स्थानीय समुदाय तथा विपन्न परिवारलाई स्वास्थ्य सामग्री, राहत र आवश्यक सहयोग उपलब्ध गराउँदै मानवीय सेवामा उल्लेखनीय योगदान पुर्‍याएका श्रेष्ठले अफुलाइ अब्बल उम्मेद्बार सावित गरेका छन् ।

ठमेलको सुरक्षा व्यवस्थापन सुदृढ बनाउने, पर्यटनमैत्री वातावरण विकास गर्ने, व्यवसायीहरूको हकहित संरक्षण गर्ने तथा आधुनिक व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने विषयमा उनले विगतदेखि निरन्तर आवाज उठाउँदै आएका छन् । यही सक्रियता, अनुभव र समर्पणका कारण श्रेष्ठलाई परिषद्को नेतृत्वका लागि सक्षम र प्रभावशाली उम्मेदवारका रूपमा हेरिएको छ।

स्थानीय व्यवसायी, रैथाने घरधनी, अग्रज पर्यटनकर्मी, परिषद्का पूर्वअध्यक्ष, युवा व्यवसायी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूले श्रेष्ठको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्। उनको नेतृत्वले ठमेलमा नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी कार्यसंस्कृतिको विकास हुने अपेक्षा उनीहरूले व्यक्त गरेका छन्।

कोसीपारीको सामान्य गाउँबाट संघर्ष गर्दै नेपालको पर्यटनको केन्द्र ठमेलसम्मको यात्रा तय गरेका श्रेष्ठको उम्मेदवारीलाई धेरैले नयाँ पुस्ताको आत्मविश्वास, इमानदार नेतृत्व र नेपाली पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने साझा अभियानका रूपमा समेत व्याख्या गरेका छन्। उनको उम्मेदवारीले परिषद्को आगामी नेतृत्व चयनलाई थप प्रतिस्पर्धात्मक र पर्यटन विकासका मुद्दामुखी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com