काठमाडौं । अर्जेन्टिनाले पेनाल्टी शुटआउटमा फ्रान्सलाई पराजित गरी कतार विश्वकपको उपाधि उचाल्यो । एकपल्ट फेरि एमिलियानो मार्टिनेज यो जितको केन्द्रमा रहे ।
उनले नियमित खेलका दौरान थुप्रै शानदार बचाउ गरे । पेनाल्टी शुटआउटमा पनि फ्रान्सको एउटा प्रहार रोकेर विश्व विजेतासँगै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक बने ।
उनले गोल्डेन ग्लोभ्स पुरस्कार पाए । ठूलो पन्जा ।
गोल्डेन ग्लोभ्स पुरस्कार लिएर तस्वीरका लागि जाँदै गर्दा उनले कम्मरमूनिको क्षेत्रमा टाँसेर एक अजिवको खुसी मनाए ।
उनको यो हर्कतले थुप्रै तर्क वितर्क जन्माएको छ । धेरैले उनको यो व्यवहारको आलोचना गरेका छन् ।
फेरि एकपल्ट पेनाल्टी शुटआउटले समर्थक र खेलाडीको तनाव बढाइदिएको थियो । खेल सकिएपछि अर्जेन्टिनी सन्चारमाध्यम ला रेडसँगको कुराकानीमा उनले आफ्नो त्यो सेलिब्रेसन शैलीबारे खुलाए ।
‘मैले यसकारण यस्तो गरेँ कि फ्रान्सेलीहरुले मेराविरुद्ध हुटिङ गरिरहेका थिए,’ उनले भने,
उनले आफ्नो उपाधि परिवारलाई समर्पित गर्न चाहेको बताए । ‘म यो सफलता आफ्नो परिवारप्रति समर्पित गर्न चाहन्छु । म निकै शान्त स्थानबाट आएको हुँ र निकै सानो उमेरमा इंग्ल्याण्ड गएको थिएँ । म यो उनीहरुप्रति समर्पित गर्न चाहन्छु,’ उनले थपे।
यद्यपी खेलपछि मार्टिनेजको व्यवहारले भने सबैलाई भावुक बनाएको थियो । फाइनलमा पारजित भएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले केलिएन एम्बाप्पेलाई सान्त्वना दिइरहेको दृश्यमा मार्टिनेज पनि सँगै थिए ।
प्रकाशित मिति: ४ पुस २०७९, सोमबार
प्रतिक्रिया