काठमाडौं । कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् ।
राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहित ५ खेलाडीले सम्भावित दुर्घटना टारे ।
मंगलबार बिहानै अर्जेन्टिना पुगेका उनीहरु खुल्ला बसमा परेडमा निस्केका थिए । लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका उनीहरु आफूहरुलाई छुनै लागेको बिजुलीको तारलाई छल्न सफल भए ।
मेसीहसति एन्जल डि मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डी बसको टपमा बसेका थिए । सार्वजनिक भिडियोमा उनीहरुले अन्तिम समयमा निहुरिएर तारलाई छलेको देखिन्छ ।
आफूहरु तार नजिक पुगेको थाहा पाउने वित्तिकै यी ५ खेलाडी निहुरिएका थिए । आइतबार सम्पन्न फाइनलमा अर्जेन्टिनालाई साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।
प्रकाशित मिति: ५ पुस २०७९, मंगलबार
प्रतिक्रिया