जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट हटाएका छन्।
साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउने कार्यक्रम तय भएको थियो। त्यसअघि नै स्वागतका लागि मन्दिर परिसरमा पुगेका श्रम संस्कृति पार्टीका नेता–कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले त्यहाँबाट लखेटेको बताइएको छ।
साम्पाङ जनकपुरधाममा पार्टीको कार्यक्रममा सहभागी हुन आएका हुन्। सोही क्रममा उनको स्वागत तथा जानकी मन्दिर दर्शनको कार्यक्रमसमेत रहेको थियो।
हिन्दु सम्राट सेनाले विगतमा गाईको मासु खाने विषयमा साम्पाङले दिएको अभिव्यक्तिलाई लिएर उनलाई जानकी मन्दिर प्रवेशमा रोक लगाउने चेतावनी दिएको थियो।
यसैबीच, घटनाबारे साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रश्न गरेका छन्, ‘गाई कसले खाएको रहेछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रहेछ ? जय जानकी मन्दिर !’
यसअघि पनि साम्पाङले जनकपुरधाममा विवाद उत्पन्न भएको र गृहमन्त्रीसँग सम्पर्क हुन नसकेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। उनले पुराना अभिव्यक्ति र धार्मिक विषयलाई लिएर विवाद सिर्जना गरिएको उल्लेख गर्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्।
श्रम संस्कृति पार्टीले मंगलबार जनकपुरधाममा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया