काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक सभापति र संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ। शुक्रबार सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको फैसला गरेपछि बसेको बैठकले अर्याललाई चयन गरेको हो।
सर्वोच्चले उपप्रधान तथा गृहमन्त्री लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरेको हो। नेपाली नागरिक नै नभएपछि लामिछानेले मन्त्री र पार्टी सभापति पद पनि गुमाएका हुन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। फैसलापछि लामिछानेले प्रधानमन्त्रीसमक्ष मन्त्रीबाट राजीनामा दिएका छन्। फैसलाले लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वत : खारेज भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्दै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ। ’
ढकालका अनुसार शुक्रबार नै बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त रहेको पार्टी संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति अर्याललाई चयन गरेको हो। लामिछानेको पद खारेज भएपछि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद रहेका छन्। उनीहरुमध्ये मन्त्रिपरिषद्मा शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की छन्।
रास्वपाले चुनौतिपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमित रही विधिको र कानुनको सम्मान गर्न सबैमा अनुरोध गरेको छ।
प्रकाशित मिति: १४ माघ २०७९, शनिबार
प्रतिक्रिया