काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएकाे छ ।
आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने जानकारी गराएका छन् ।
‘प्रधानमन्त्रीसँगकाे छलफल सकारात्मक देखिएन । साँझसम्ममा प्रधानमन्त्रीले हामीलाई गृह दिने निर्णय नगरे सरकारबाट बाहिरिने सम्भावना छ’, रविकाे सचिवालयका एक सदस्यले भने ।
उनका अनुसार साँझ पत्रकार सम्मेलन गरेर सरकार छाेडेकाे जानकारी सार्वजनिक गर्ने तयारी रास्वपाले गरेकाे छ ।
नागरिकता मुद्दा हारेपछि रवि लामिछानेकाे उपप्रधान तथा गृहमन्त्री पद गुमेकाे थियाे । अहिले गृह मन्त्रालयकाे कार्यभार प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन् ।
अहिलेकाे सत्ता गठबन्धन बन्दा गृह मन्त्रालय रास्वपाले पाएकाे थियाे । तर अब राजनीतिक परिस्थिति बदलिएकाे भन्दै गृह मन्त्रालय रास्वपालाई नछाड्न प्रधानमन्त्रीलाई माओवादी नेताहरूकाे दबाब छ ।
प्रकाशित मिति: १७ माघ २०७९, मंगलबार
प्रतिक्रिया