काठमाडौँ  । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनले गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानीय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् ।

३० वैशाखमा हुन गइरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै पनि गठबन्धनको नाममा अन्य दललाई नै भागबन्डामा पारिदिएको भन्दै कांग्रेसमा तीव्र असन्तुष्टि बढेको हो ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले माग नगरेका क्षेत्रमा पनि भागबण्डा गरेर कांग्रेसको संगठन कमजोर बनाएको भन्दै स्थानीय  तहमा राजीनामा र  तालाबन्दीको लहर चलेको छ ।

चितवन
भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रको भागमा दिने निर्णयमा चितवन कांग्रेसले विरोध र आपत्ति जनाउँदै आएको थियो ।  तर, केन्द्रीय गठबन्धनले स्थानीय तहको आग्रहविपरीत भरतपुर माओवादीलाई दिएपछि चितवन कांग्रेसमा बिग्रह भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निर्णयप्रति आपत्ति जनाउँदै चितवन जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा शुक्रवार तालाबन्दी गरिएको छ ।

केन्द्रीय सदस्य दिनेश कोइराला, टेकबहादुर गुरुङ,  पूर्वसांसद जगन्नाथ पौडेललगायतका नेताहरूको उपस्थितिमा जिल्ला सभापति खनालको कार्यकक्षमा तालाबन्दी गर्दै केन्द्रीय निर्णय सच्चाउन माग गरेका छन् ।
२ सय ५० भन्दा बढी कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियानको घोषणा गरिसकेका छन् ।

हेटौडा
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले माग नगर्दा पनि सो पार्टीलाई हेटौडा भागबन्डामा पारेको भन्दै मकवानपुर कांग्रेस भित्र तीव्र बिरोध र आक्रोशित पैदा हुन पुगेको छ ।

हेटौडालगायत अन्य स्थानीय तहको भागबण्डाका लागि गत बिहीबार  बसेको पाँच दलीय गठबन्धनको बैठक निष्कर्षविहीन भएपछि पुनः शुक्रवार बोलाइएको थियो । तर, शुक्रबार हेटौंडामा बैठक बस्न सकेन ।

नेकपा एसलाई हेटौडा दिने देखिएपछि गत ६ वैशाखमा तालावन्दीसमेत गरिएको थियो । काङ्ग्रेस नगर समितिमा बैठक बसिरहँदा  केन्द्रीय निर्णयप्रति आपत्ति जनाउँदै गरिएको तालाबन्दी दुई घन्टापछि खोलिएको थियो भने कांग्रेस नगर समितिले पनि आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

गत निर्वाचनमा थोरै मतले पराजित भएको उल्लेख गर्दै हेटौडाको मेयर कांग्रेसले पाउनु पर्ने भन्दै सभापति आनन्दराज पराजुलीले स्वतन्त्र उम्मेदवारीको चेतावनी दिएका छन् ।

जनकपुर
जनता समाजवादी पार्टीलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरको भागबण्डा पारेको भन्दै नगर सभापति मनोजकुमार साहसहित २ सय ५०  जना भन्दा बढीले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।

शुक्रबार जनकपुरधारमा पत्रकार सम्मेलन गर्दै नगरसभापति साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणालाई नगर सचिव लालबाबु मिश्र, कोषाध्यक्ष विरेन्द्र यादव, जनकपुरधाम–१५ का वडा सभापति नन्दलाल साहसहितले साथ दिएका छन्।

कैलाली
कांग्रेसको नेतृत्व छाडेर अन्यलाई टिकट दिएको भन्दै कैलालीस्थित धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशील सदस्यले सामूहिक राजीनामाको घोषणा गरिसकेका छन् ।

नगर सभापति यज्ञराज उपाध्यायसमक्ष बुझाएको राजीनामा पत्रमा पार्टीको साधारणसमेत नरहने गरी कांग्रेस परित्याग गरी स्वतन्त्र रहन चाहेको उल्लेख छ ।

रौतहट
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पाँच दलीय गठबन्धन बन्नका लागि दिइएको दबाब नगर, क्षेत्र र जिल्लाले अस्विकार गर्दै सबै स्थानीय तहमा एकल रुपमा नाम सिफारिस गरेको छ ।

तीन पटक बसेको गठबन्धन बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कांग्रेसले एकल रूपमा नगरपालिका र गाउँपालिकाका मेयर उपमेयरको नाम सिफारिस गरेर प्रदेश कमिटीलाई पठाएको छ ।

तर, गठबन्धन र आन्तरिक द्धन्द्धका कारण राजपुर फरहदवा र बिजयपुर फतुवाका मेयरले कांग्रेस परित्याग गरी क्रमशः नेकपा एमालेमा आवद्धता र स्वतन्त्र भएको घोषणा गरेका छन् ।

वीरगंज 
वीरगंज महानगरपालिकासहित पर्साका १६ वटै स्थानीय तहमा कांग्रेस एक्लै लडने निर्णयसहित नगर समितिले पत्रकार सम्मेलनमार्फत घोषणा नै गरिसकेका छन् ।
मधेस प्रदेशको १ मात्र महानगर वीरगंज जसपा नेपाललाई दिने संकेत पाउनेबितिक्किै अघिल्लो बुधवार पत्रकारसम्मेलन नै गरेर कांग्रेसले पर्सामा एक्लै चुनाव लड्ने निर्णय गरिसकेको थियो ।

१ वैशाखमा जिल्ला समितिको बैठकले पर्सामा कांग्रेस एक्लै चुनाव लडने निर्णय गरेको जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी गराइसकेका छन् । पर्सामा १ महानगरपालिका, ४ नगरपालिका र १० गाउँपालिका छन् ।

सो निर्णयलगत्तै ३ वैशाखमा बसेको कांग्रेस र जसपा नेपालको संयुक्त बैठकले अलग अलग रूपमा मित्रवत प्रतिस्पर्धाका आधारमा निर्वाचन लडने निर्णय गरेका थिए । सो निर्णयमा कांग्रेसका जिल्ला सभापति क्षेत्री र जसपा नेपालका रामनरेश प्रसाद यादवले हस्ताक्षरसमेत गरिसकेका छन् ।

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com