काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ । पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो । उसले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो ।

नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ ।

उनी नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य हुन् । हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । क्रिकेट समर्थकहरूले सन्दीपलाई विदेशमा खेल्ने वातावरण बनाउन अदालत र क्यानसँग माग गर्दै आएका छन् ।

 

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com