काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सीट बाँडफाँडप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।


अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भए पनि त्यही अनुसार जिल्ला तहको सीट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सीट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई निरुत्साहित बनाएको बताए।

महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सीट बाँडफाँडले आफूहरु उत्साही भए पनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।


‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहबर्द्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ ।  तर विभिन्न जिल्लाको रिपाेर्टहरु सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन’ उनले भने, ‘हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरि हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । त्यसैगरी हामीले भनेका थियौँ–नेकपा (माओवादी केन्द्र)ले जितेको ठाउँमा त्यही पार्टी । नेपाली कांग्रेसले जितेको ठाउँमा काग्रेस, जनता समाजवादीले जितको ठाउँमा त्यही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्छ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप समेत लगाएका छन् । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिएको उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी समेत दिए । अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरे ।

 

प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com