काठमाडौं । पर्वतमा आज शुक्रवार एउटा गाउँमा चितुवा भेटियो । त्यसको केही क्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन ।

‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो ।

‘हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौँ । बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरुक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो’, कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भने, ‘त्यसको १० मिनेटपछि चितुवा मर्‍यो । त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो । चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन ।’

डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपुर्‍याएको छ । कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ । ‘चितुवा २० केजी जतिको छ’, निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने ‘बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वन जङ्गलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ ।’

एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौरहा पठाइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचार र स्याहारपछि चितुवा तन्दुरुस्त भएकाले निकुञ्ज छेउको जङ्गलमा छोडिएको थियो ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com