काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा रू ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण रू १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण रू नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा रू ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा रू १९ अर्ब ४३ करोडले घटेको छ ।

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन रू ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

चालु आवको पुस मसान्तसम्म नेपालले रू ४७ अर्ब २७ करोड बराबर ऋण उठाएको छ । जसमध्ये रू ३० अर्ब आन्तरिक र रू १७ अर्ब २७ करोड बाह्य ऋण उठाएको हो । यही अवधिमा रू ४५ अर्ब ६१ करोड बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा रू २८ अर्ब ३० करोड र ब्याज रू १७ अर्ब ३१ करोड बराबर छ ।

यो अवधिमा आन्तरिक ऋणको साँवा रू १९ अर्ब ५९ करोड २५ लाख र ब्याज रू १५ अर्ब ६५ करोड ९६ लाख गरी कूल रू ३५ अर्ब २५ करोड भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा रू आठ अर्ब ७१ करोड र ब्याज रू एक अर्ब ६५ करोड गरी रू १० अर्ब ३६ करोड भुक्तानी भएको छ । कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७ दशमलव २८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२ दशमलव ७२ प्रतिशत बराबर छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com