काठमाडौं । विश्वका दोस्रो धनाढ्य इलोन मस्कले ट्वीटर खरिद गर्दा नै स्पष्ट रूपमा यो भनेका थिए कि यस सामाजिक सञ्जालमा अब धेरै कुराहरू परिवर्तन गरिनेछन् । हालै ट्वीटरको लोगो परिवर्तन हुँदा मानिसहरू अचम्ममा परेका छन् । चराको स्थानमा कुकुर प्रतिस्थापन भएपछि विभिन्न टिप्पणीहरू हुन थालेका छन् । केहीले ट्वीटरको लोगोमा कुकुर नसुहाएको बताइरहँदा अन्यले मस्क ट्वीटरका मालिक भएकाले उनले जे चाह्यो त्यही लोगो राख्नसक्ने बताइरहेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार हाल ट्वीटरको लोगो राखिएको कुकुर ‘डोज’ नामले परिचित छ । सामाजिक सञ्जालमा भाइरल मिममा पनि यो कुकुर देख्न सकिन्छ ।

मस्कले केही वर्षअगाडि ट्विट गर्दै सामाजिक सञ्जालको नयाँ प्लेटफर्मको खाँचो छ त भन्दै प्रश्न गरेका थिए । जवाफमा एक ट्वीटर प्रयोगकर्ताले जिस्किएर भनेका थिए, ‘ट्वीटर खरिद गर्नुहोस् र चराको लोगोलाई परिवर्तन गरेर कुकुर बनाउनुहोस् ।’

मस्कले हालै सोही ट्विटको स्क्रिनसट गर्दै आफूले वाचा पूरा गरेको बताएका हुन् । यसको अर्थ उनले जे मन लाग्यो त्यसैलाई ट्वीटरको लोगो बनाउन सक्छन् किनभने उनी ट्वीटरका मालिक हुन् ।

विश्वमा कुकुरकै लोगो भएको डोजक्वाइन नामक क्रिप्टोकरेन्सी पनि छ । ब्लुमबर्गको रिपोर्टअनुसार जब ट्वीटरको लोगोमा कुकुर राखियो डोजक्वाइनको सेयर ३० प्रतिशतले बढेको छ । यो क्रिप्टोकरेनसी विश्वको तेस्रो शक्तिशाली डिजिटल मुद्रा हो ।

डोजक्वाइनसँग सम्बन्धित एक मुद्दामा मस्कले मुद्दा पनि झेलिरहेका छन् । उनले डोजक्वाइनलाई बढावा दिएर त्यसको लगानी प्रभावित पारेको आरोप छ । कुकुरसँग सम्बन्धित अन्य विषयमा पनि मस्क जोडिएका छन् जसले गर्दा उनले ट्वीटरको लोगो कुकुर बनाएका हुन सक्छन् ।

जस्तै सन् २०२१ मा मस्कको कम्पनी स्पेस एक्सले डोजी–१ नामक स्याटेलाइट अन्तरिक्षमा पठाएका थिए । अर्थात् स्याटेलाइटको नाम पनि कुकुरबाटै राखिएको थियो । यो अभियानका लागि उनले डोजक्वाइनबाट लगानी गरेका थिए ।

यसैवर्षको फेब्रुअरी १५ मा पनि मस्कले कुकुरको फोटो सेयर गर्दै ट्विटमा भनेका थिए ,‘ट्वीटरका नयाँ सीईओ कमालका छन् ।’ यससँगै यतिबेला ट्वीटरको लोगो परिवर्तन भइसकेको छ । –बीबीसीको सहयोगमा

प्रकाशित मिति: २३ चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com