काठमाडौं । भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

भारतको पन्जाबमा आइतबार बिहान उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

काठमाडौंस्थित भारतीय दूतावासले सिंह नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। अध्यागमन विभागले पनि सिंहलाई निगरानी सूचीमा राखेको थियो।

सिंह भारतीय प्रहरीको फरार सूचीमा थिए।

उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्‍याएको र अशान्ति मच्चाएको आरोप छ।

को हुन् अमृतपाल सिंह?

सन् २०२० भन्दाअघि सिंह कुनै चर्चामा थिएनन्। त्यतिबेला भएको किसान आन्दोलनका क्रममा   अभियन्ता बनेका सन्दीप सिंहको सामाजिक सञ्जालमा समर्थन गरेपछि उनलाई केही मानिसले चिन्न थालेका थिए।

सन् २०२२ को मार्चमा उनी अचानक वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनको चर्चा चुलिएको हो। दीप सिधुले सन् २०२१ मा बनाएको उक्त समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्रविरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भावविरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो।

सन् २०२२ को विधान सभा चुनावका बेला वारिस पञ्जाब दे खलिस्तानतर्फ ढल्किएको थियो।

२९ वर्षीय अमृतपाल सिंह वारिस पञ्जाब देको नेता चुनिएपछि २०२२ सेप्टेम्बरमा दुबईबाट पञ्जाब फर्किएका थिए। दुबईमा उनको परिवारको ट्रान्सपोर्टको व्यापार छ।

पञ्जाब फर्किएपछि सार्वजनिक र गोप्य रूपमा गरेका विभिन्न कार्यक्रमबाट उनको चर्चा चुलिँदै गयो।

उनले सार्वजनिक रूपमै पनि हिंसाका पक्षमा वकालत गरेका थिए। पछिल्लो समय उनले शिखहरूको छुट्टै राज्य खलिस्तानको भावना दबाउन नसकिने बताउँदै आएका थिए। सुरूमा भारतको पञ्जाबभित्र खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट पनि खलिस्तान भूमि गाभ्ने योजना उनले एक अन्तर्वार्ताका क्रममा सुनाएका थिए।

एउटा युट्युब भिडिओमा उनले भारतले पञ्जाबमा उपनिवेश लादेको बताएका थिए। चर्चा चुलिँदै गएपछि अमृतपाल हतियारधारी समर्थकहरूको स्कर्टिङमा हिँड्न थालेका थिए।

अमृतपालका एक जना निकट पक्राउ परेपछि उनका समर्थकले गत फेब्रुअरी २३ एउटा स्थानीय प्रहरी चौकी घेरेका थिए। उनीहरूसँग भएको झडपका क्रममा केही प्रहरीहरू घाइते भएका थिए।

त्यसपछि प्रहरीले उनी र उनका समर्थकमाथि कारबाही तीव्र पारेको हो। गत शनिबार पञ्जाबको जलन्धर जिल्लामा प्रहरीले उनलाई पक्रन अपरेशन चलाएका बेला उनी मोटरसाइकलमा भागेको बताइएको छ।

प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com