काठमाडौं । भारी वर्षाका कारण खेल रद्द हुँदा खेल रद्द हुँदा एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेल रद्द हुँदा नेपाल समूह ए को विजेताको रूपमा फाइनल पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल पहिलो इनिङमा २३.३ ओभर खेल भइरहँदा पानी परेपछि करिब २ घण्टा खेल अवरुद्ध भएको थियो । त्यसपछि पानी रोकिएर सुरु भएको खेलमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दियो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको कुवेतले ८.३ ओभर खेलिरहँदा पानी दर्किएपछि बाँकी खेल हुन सकेन । डिएल मेथडमा खेलको नतिजा लिन कुवेतले २० ओभर खेलेको हुनु पर्ने थियो । र, २० ओभरमा कुवेतले नेपाललाई जित्न १ सय ९४ रन बनाउनु पर्ने थियो । बाँकी खेल हुन नसक्दा खेल नतिजाविहीन बन्यो र त्यसको फाइदा नेपाललाई भयो ।

दोस्रो इनिङमा नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले खेल रोकिने बेलासम्म ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको थियो । कुवेतका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा नेपालका लागि तीव्र गतिका बलर करण केसीले ५ विकेट लिएका थिए । भने, सोमपाल कामीले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रनको इनिङ खेले । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुके ।

रोहितले यसअघि, चौथो विकेटका लागि कुशल मल्लसँग १ सय ९ रनको साझेदारी गरेका थिए । कुशल ४४ बलमा समान ४ चौका र छक्कासहित ५७ रनमा आउट भए ।

पहिलो विकेटका लागि आसिफ शेखसँग ७७ रनको साझेदारी गर्दै ओपनर कुशल भुर्तेल ४३ रनमा आउट भए । अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याचआउट हुनु अघि कुशलले ३९ बल खेल्दै ७ चौका र एक छक्का प्रहार गरे । आसिफ २८ बलमा १ चौका र तीन छक्कासहित ३१ रन बनाएर पभेलियन फर्कएका थिए ।

आरिफ शेख १९ बलमा २ चौका र १ छक्काको मद्दतमा १९ रन बनाएर रन आउट भए । भने, सोमपाल कामी १३ रनमा अविजित रहे ।

कुवेतको बलिङमा मोहमद अस्लाम र अदनन् इद्रिसले समान तीन–तीन विकेट लिए । यासिन पटेल र सायब मोनिबले समान एक विकेट लिए ।

समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेपनि नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको थियो । समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह ए को विजेता बनेको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com