काठमाडौं । नेपालको क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्नु ठूलो अवसर भएकाले पनि फाइनल खेल महत्वपूर्ण भएको बताएका छन्।

शनिबार एसिसी प्रिमियर कपको कुवेतविरूद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ। सोमबार हुने फाइनलमा नेपाल युएईसँग भिड्दैछ।

सेमिफाइनल खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै कप्तान पौडेलले भारत र पाकिस्तानसँग खेल्नु ठूलो अवसर भएकाले पनि फाइनल खेल महत्वपूर्ण भएको बताएका हुन्।

‘भारत र पाकिस्तानसँग खेल्नु हाम्रा लागि ठूलो अवसर हो। त्यसैले फाइनल हाम्रो लागि धेरै महत्त्वपूर्ण छ,’ उनले भने, ‘हामीले फाइनल खेललाई जस्तो छ, त्यस्तै लिनेछौं। युएईविरूद्ध खेल्नु दबाबको कुरा हो। जुन टिमले यसलाई राम्रोसँग सम्हाल्छ उसले जित्न सक्छ।’

कुवेतविरूद्धको खेलमा सुरूमा टस हारेर ब्याटिङ गरेको नेपालले २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर कुवेतले ब्याटिङ गरेको केहीबेरमै वर्षा हुन थालेको थियो।

कुवेतले ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोड्दा खेल वर्षाले रोकिएको थियो। नेपालका लागि करण केसीले ५ विकेट र सोमपाल कामीले एक विकेट लिएका थिए।

त्यसपछि वर्षा हुन थालेपछि खेल हुन नसक्दा रद्द गरिएको थियो। यता युएईले पनि ओमानलाई डिएलएस मेथडबाट पराजित गरेको हो।

प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com