काठमाडौं । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा झापाको मेचीनगर- १० घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ३५ वर्षीय विनोद विश्वकर्मा छन् ।

एक पबमा बाउन्सरको काम गर्दै आएका विकलाई प्रहरीले शनिवार झापाको बिर्तामोड- १ स्थित इलाम बस स्टपबाट पक्राउ गरेको थियो ।​

यस्तो छ घटनाको विवरण

प्रहरीका अनुसार वैशाख ७ गते विनोद निरु किचन हुँदै जाने क्रममा निराले लगाएको सुनको सिक्री देखेपछि उक्त सिक्री लुट्ने उद्देश्यले सामान किन्ने बहाना बनाई पसलमा छिरेका थिए ।

त्यसैक्रममा अन्य ग्राहक पसलमा आएपछि एटीएमबाट पैसा निकाल्छु भनी बाहिर निस्किएको पाइएको छ । यो दिउँसो करीब २ बजेको कुरा हो

सुनसान भएको मौकामा २:४४ बजे पुन: पसलमा गएका विनोदले निराको हत्या गरी उनले लगाएको सुनको सिक्री र काउन्टरमा रहेको अन्दाजी १२/१३ सय रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

घटनापश्चात भित्री बाटोबाट रफ्तारमा फूटसल हुँदै गोपीकृष्ण हलतर्फ गई ट्याम्पु चढेको पाइएको छ । ट्याम्पुबाट चाबहिल चोकस्थित एसी कम्प्लेक्समा झरी मोटरसाइकल चढेको पाइएको प्रहरीले जनाएको छ ।

विनोद त्यहाँबाट जडीबुटी चोक पुगी अर्को मोटरसाइकलमा चढेर लोकन्थली आँखा अस्पतालतर्फ गई एक पसलमा फ्रुटी किनेर खाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यो दिन विनोद गाउँकै एक भाइको कोठामा बसेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निराले लगाएको ९८ लालको सिक्री काठमाडौंको तारकेश्वर, हिलेटोल- १० स्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजार रुपैयाँमा धरौटीमा राखी पैसा लगेको पाइएको छ ।

घटनाको ५ दिनपछि अर्थात वैशाख १३ गते उनी बनेपा-बर्दिवास हुँदै सडक यात्रा गरेर झापा गएको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार विनोद विवाहित हुन् । शुरूमा क्यासिनोमा काम गर्दै आएका विनोद ३ लाख रुपैयाँ ऋण लागेपछि त्यो तिर्न नसकेर काठमाडौं आएको पाइएको छ ।

विवाहित रहे पनि उनको अर्की एक महिलासँग समेत अफेयर रहेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

प्रहरीले उक्त दिन विनोद घटनास्थलतर्फ जाँदै गरेको र फर्किँदै गरेको सीसीटीभी फूटे‍जको दृश्य समेत सार्वजनिक गरेको छ ।

बाग्लुङको बडिगाड- ५ घर भई चाबहिलमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा वैशाख ७ गते पसलमै मृत अवस्थामा फेला परेकी थिइन् ।

धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा उनको शव फेला फरेको थियो । घटनाको १० दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: १७ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com