काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुन सकेको थिएन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।

विगत ४ वर्षसम्म पारवहन सन्धि नवीकरण नै नभएको अवस्थामा यसमा हस्तक्षर हुनु महत्वपूर्ण भएको प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो । ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुक पारवहन सन्धि नवीकरण नै नभई रहँदा सहज भएको थिएन। यो महत्वपूर्ण उपलब्धि हो’ मरासिनीले भने । नेपालले अब सडक, रेल र जल तीनवटै मार्गबाट समुद्रसँगको पहुँच पाएको उनले बताए ।

सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।

भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए ।

त्यस्तै, भारतको आन्तरिक जलमार्गमा रहेका तीन वटा टर्मिनलसम्म नेपालले पहुँच पाएको सैंजुले बताए । यस्तै भारतले निर्माण गरिरहेको बनारस, साहीवगञ्ज र कालुघाटस्थित आन्तरिक जलमार्ग टर्मिनल भएर नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने सैंजुले बताए ।

बनारस जलमार्ग भएर वीरगञ्ज र भैरहवा नाकासम्म, साहीवगञ्ज जलमार्गबाट विराटनगर र कालुघाट जलमार्ग भएर नेपालगञ्ज नाकासम्म विद्युतीय ट्र्याकिङ गरेर कन्टेनरमार्फत मालवस्तु आयात निर्यात गर्न सकिने छ ।

साहीवगञ्ज जलमार्गसँग नेपालको पहुँचले भारतीय जलमार्ग भएर भएर सप्तकोशी नदीसम्म पानी जहाज चलाउनसमेत पहुँच विस्तार भएको वाणिज्य विज्ञ रविशंकर सैंजुले बताए । त्यसका लागि नेपालले आन्तरिक जलमार्ग भने तयार गर्नु पर्नेछ ।

सन्धि पुनरवलोकन हस्ताक्षरपछि अब नेपालले भारतको विशाखापटनम् बन्दरगाहबाट विराटनगर र भैरहवा नाकासम्म बल्क कार्गो ल्याउने बाटो खुल्नेछ ।

‘सन्धि पुनरवलोकनमा हस्ताक्षर नेपालको पारवहन पहुँचमा निकै महत्वपूर्ण छ,’ सैंजुले भने, ‘अब हामीले बिशाखापटनबाट दुई नाकाका लागि बल्क कार्गो र तीन जलमार्गका लागि पहुँच पाएका छौं । यसले नेपालसम्मै पानी जहाज चलाउन पनि बाटो खुला गर्‍यो ।’

प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com