एजेन्सी । भारतको ओडिशामा शुक्रबार राति भएको भयानक रेल दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ सय ९४ पुगेको छ । बालासोर जिल्लामा भएको याे डरलाग्दो दुर्घटनामा करिब एक हजार जना घाइते भएका छन्, केहीको अवस्था अझै गम्भीर छ ।

काेलकातादेखि चेन्नाई हिँडेको कोरोमन्डल एक्सप्रेस रेलले एक मालवाहक गाडीलाई पछाडिबाट ठक्कर दिएपछि यो दुःखदायी घटना हुन पुगेको हो । रेलवेको प्राविधिक भाषामा यस्ता घटनालाई ‘हेड अन कलिजन’ भन्ने गरिन्छ जुन बिरलै हुनगर्छ ।

यो दुर्घटनापछि कोरोमन्डल एक्सप्रेस रेलको १२ वटा डिब्बा लिक बाहिर गएको थियो । केही डिब्बा अर्को रेल लिकसम्मै पुग्यो । त्यसबेला अर्कोतर्फ बैंगलौरबाट यसवन्तपुर–हावडा एक्सप्रेस रेल आइरहेको थियो ।

त्यसपछि दुवै रेल दुर्घटनामा पर्दा यो भयानक दुर्घटना हुन पुग्यो । रेलवेको दक्षिण पूर्वी क्षेत्रको खड्गपुर डिभिजनको ब्रोड गेज नेटवर्कमा दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यस दुर्घटनाका कारण अर्को एक सानो रेल पनि दुर्घटनामा परेको छ ।

गत शुक्रबार जुन २ तारिखमा २३ डिब्बा भएको कोरोमन्डल एक्सप्रेस रेल बालासोर, कटक, भुवनेश्वर, विशाखापत्तनम र विजयवाडा हुँदै चेन्नाई पुग्नुपर्ने थियो । हावडा नजिकैको सालिमार रेलवे स्टेसनको रेल नंम्बर १२८४१ निर्धारित समयमा हिँडेको थियो ।

यो रेल दिउँसो ३ बजेर २० मिनेटमा निस्केर सन्तरागाछी रेलवे स्टेसनमा रोकियो र ३ मिनेट ढिलो खड्गपुर स्टेसन पुग्यो । त्यसपछि रेल साँझ ७ बजे बालासोर नजिकै बाहानगा बजार रेलवे स्टेसन तर्फ अगाडि बढेको थियो ।

यो रेल बाहानगा स्टेसनमा नरोकी अगाडि जानुपर्ने थियो तर रेल मुख्य लिक नभएर लुप लाइनबाट अगाडि बढ्यो । रेल सञ्चालनलाई सहज बनाउन र धेरै संख्यामा रेलहरू समायोजन गर्न स्टेशन क्षेत्रमा लुप लाइनहरू निर्माण गरिएका हुन्छन् । यसरी लुप लाइनमा तीव्र गगिमा गइरहँदा त्यहाँ मालवाहक गाडी रोखिएको थियो ।

रोक्न सक्ने अवस्था नभएपछि कोरोमन्डल एक्सप्रेसले सो गाडीलाई ठक्कर दियो । अल इन्डिया रेलवे मेन्स फेडरेसनका अनुसार मुख्य लिकमा प्राविधिक खराबी भएका कारण कोरोमन्डल एक्सप्रेसलाई लुप लाइनमा जान संकेत दिइएको थियो जसकारण दुर्घटना भएको हो ।

कोरोमन्डल एक्सप्रेसको १२ डिब्बा उछिट्टिएर अर्को लिकमा पुग्दा यसवन्तपुर हावडा एक्सप्रेस रेल पनि दुर्घटनामा पर्‍याे । यस रेलको भने ३ डिब्बा लिक बाहिर गयो । दुवै रेलको १५ डिब्बा लिक बाहिर बजारिँदा सयौँ मानिसहरूले ज्यान गुमाए । रेल दुर्घटनाका क्रममा कोरोमन्डल रेल प्रतिघण्टा १२८ किलोमिटरको गतिमा कुदिरहेको थियो भने अर्को रेल भने प्रतिघण्टा १२५ किलोमिटरको गतिमा कुदेको थियो ।

भारतको रेल दुर्घटनाको इतिहासमा यसलाई चौथो ठूलो दुर्घटना भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दुर्घटनाको पूरा जाँच गरिने र दोषीलाई नछोड्ने बताएका छन्  । यतिबेला भारतका विपक्षी नेताहरूले संघीय रेल मन्त्रीलाई पदबाट बर्खास्त गर्नुपर्ने आवाज पनि उठिरहेको छ ।
हिन्दुस्तान टाइम्स

प्रकाशित मिति: २१ जेष्ठ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com