बेनी । नेकपा एमालेका धवलागिरी गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले राप्रपाबाट स्थानीय तह चुनावका लागि गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन्। एमालेबाट गाउँपालिका अध्यक्षको टिकटको आकांक्षी रहेका थापा उमेद्वार छनौटमा नपरेपछि सोमबार नै दल परिवर्तन गरी राप्रपाबाट उमेद्वार बनेका हुन्।

धवलागिरी गाउँपालिकाको निर्वाचन अधिकृत भोलाराज रेग्मीले थापाले राप्रपाबाट गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका पुष्टि गरे।

नेकपा एमालेको गत पुषमा भएको पालिका अधिवेशनबाट थापा धवलागिरी गाउँपालिका कमिटीको अध्यक्षमा चयन भएका थिए। एमालेले धवलागिरीको अध्यक्षमा यसअघि पनि अध्यक्षमा निर्वाचित थमसरा पुन र उपाध्यक्षमा प्रगति कार्कीलाई सोमबार बिहान मात्र उमेद्वार छनौट गरेको थियो।

उमेद्वार छनौटमा असन्तुष्टि जनाउँदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उमेद्वार बनेका हुन्। पुन र थापासँगै एमालेका प्रदेश कमिटि सदस्य रेशम भण्डारी र वाहलवाला गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल अध्यक्षको आकांक्षी थिए।

धवलागिरीमा काँग्रेस र नेकपा माओवादी केन्द्रले वडा तहसम्म नै तालमेल गरेका छन्। गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेका प्रेमप्रसाद पुन काँग्रेसको धवलागिरी गाउँपालिका सभापति हुन्। उपाध्यक्षमा माओवादी केन्द्रका गाउँपालिका कमिटि सचिव रेशम पुनले उमेद्वारी दर्ता गराएका छन्।

स्थानीय तह निर्वाचन अन्तरगत धवलागिरीमा चुनिने ३७ पदमा ८९ जनाको उमेद्वारी परेको छ। गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उमेद्वारी दर्ता भएको हो।  अन्नपूर्ण

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com