काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महागरपालिकाका प्रमुख बालेन्द्र शाहलाई महानगरपालिकाभित्रका हलहरूमा फिल्म प्रदर्शन रोक लगाउने कानुनी अधिकार नरहेको जनाएको छ ।

काठमाडौं महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहको निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलले मंगलबार निषेधाज्ञाको आदेश दिएका हुन् ।

भारतीय सिनेमा ‘आदिपुरुष’मा समावेश जानकी भारतकी छोरी हुन् भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने शाहले सामाजिक संजालमार्फत घोषणा गरेका थिए । शाहले साउन ३२ गते उक्त घोषणा गरेका थिए भने असार १ गतेदेखि महानगर प्रहरीलाई भारतीय फिल्म प्रदर्शनमा रोक लगाउन सिनेमा हलहरूमा परिचालन गरिएको थियो । उक्त कदमविरुद्ध नेपाल चलचित्र संघ उच्च अदालत पाटन गएको थियो ।

उच्च अदालत पाटनले मेयर शाहले कानुनी अधिकार बिना नै भारतीय फिल्म प्रदर्शनीमा रोक लगाउने कार्य गरेको उल्लेख गरेको छ ।

‘भारतीय फिल्म आदिपुरुषमा समावेश भएको आपत्तिजनक शब्दको विषयलाई लिएर उक्त फिल्म निर्माता बाहेकका अन्य फिल्म निर्माताहरूबाट निर्मित अनुमति प्राप्त भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाउन सक्ने गरी काठमाडौं महानगरपालिका तथा सोका प्रमुखलाई स्थानीय सरकार संचालन ऐन, २०७४ लगायत प्रचलित कानुनले अधिकार प्रदान गरेको नदेखिँदा प्रस्तुत निवेदनको टुंगो नलागेसम्म अनुमति प्राप्त फिल्म प्रदर्शनमा रोक लगाउने कार्य नगर्नू/नगराउनू’ भनी काठमाडौं महानगर र मेयर शाहका नाममा आदेश जारी भएको हो ।

प्रकाशित मिति: १२ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com