काठमाडौं । हिजो काठमाडौं आइपुगेका चिनियाँ धनाढ्य ज्याक मा र नेपालका धनाढ्य विनोद चौधरीबीच एक घण्टा गोप्यवार्ता भएको छ ।

निजी जेट विमानमा ढाका हुँदै नेपाल आएका माले आज दिउँसो चौधरीको निवास रवि भवन पुगेर भेट गरेका हुन् ।दुवै जना विश्वकै डलर अर्बपतिको सूचीमा छन् । ज्याक उक्त सूचीको ६३ नम्बरमा छन् । गत वर्ष ५ नम्बरमा थिए । चौधरी भने १६४७ नम्बरमा रहेको फोर्ब्स पत्रिकाले जनाएको छ ।चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा आज बिहान कालिमाटीको तरकारी बजार अवलोकन गर्न गएका थिए । त्यसपछि स्वयम्भू दर्शन गर्न पुगे । दिउँसो रवि भवनस्थित चौधरीको घरमा पुगे । उनीहरुबीच आज चितवनको मेघौलीस्थित मेघौली रिसोर्टमा भेट गर्ने कार्यक्रम थियो । उक्त रिसोर्ट चौधरीको हो। तर, उक्त कार्यक्रम रद्द गरेर चौधरीको घरमा भलाकुसारी भएको हो ।

ज्याकलाई चीन सरकारले सन् २०२१ मा अलिबाबा कम्पनीका कतिपय आर्थिक कारोबारमाथि शंका गर्दै ठूलो रकम जरिवाना तिराएको थियो । त्यतिबेला २ अर्ब ८० करोड डलर जरिवाना तिरेपछि उनी सार्वजनिक जीवनबाट टाढा बसेका थिए । पछिल्लो समय उनी जापानको राजधानी टोकियोमा बस्ने गर्छन् । उनको अलिबाबा र टेन्सेन्ट कम्पनी पछिल्ला प्रविधि कम्पनीहरुमध्ये चीन र विश्वमा निकै प्रख्यात छन्।

चौधरीले डिजिटल पेमेन्टलगायत विभिन्न प्राविधिक विषयमा साझेदारीको निम्ति ज्याकमासँग प्रस्ताव गरेको स्रोतको दाबी छ। चिनियाँ धनाढ्यले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट्ने कार्यक्रम रहेको बताइएको थियो । भक्तपुर दरवार स्क्वायर घुमेर होटल छिरेका माको साँझ साढे ७ बजेसम्म प्रधानमन्त्रीसँग भेट भएको छैन्।

प्रकाशित मिति: १३ असार २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com