काठमाडौं । काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानविन अघि बढेको छ।
पीडित महिला प्रहरीले इन्सपेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफुलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन्।

‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै उनले लेखेकी छिन्– ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन्।’
उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफु ती महिला प्रहरीको शरीरको फ्यान भएको, फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज छन्।

ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानविन गर्न समिति गठन गरेको छ।
इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्सपेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानविन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।

‘इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानविन गर्छौं,’ एसपी केसीले भने, ‘छानविनबाट दोषी देखिए कारबाही अघि बढ्छ।’
इन्स्पेक्टर तिमिल्सिनाले म्यासेज पठाएको भनिएको स्टाग्राम एकाउण्ट उनको हो कि होइन भन्ने यकिन गर्न छानविन समितिलाई निर्देशन दिएको उनले बताए। यसका लागि प्रहरीको साइबर ब्युरोलाई अनुरोध गरिएको छ।

यता, तिमिल्सिनाले पनि एसपी केसीलाई निवेदन दिएर उक्त स्टाग्राम एकाउण्ड ह्याक भएको र आफुले नचलाएको बताएका छन्।

‘मैले चलाउँदै आएको स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, स्टमित्रहरूलाई अश्लिल खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ,’ उनले निवेदनमा भनेका छन्।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com