काठमाडौं । प्रत्येक व्यक्तिको पहिलो पाठशाला हो घर । विद्यालय र विश्वविद्यालयमा पढेर सिक्ने ज्ञान मान्छेले भुल्न सक्ला । तर, घर परिवारमा सिकेको ज्ञान, संस्कार र परम्परा शायदै भुल्न सकिन्छ ।

आधुनिक संसारमा विद्यालय र विश्वविद्यालयले दिने शैक्षिक योग्यताको प्रमाणको महत्व बेग्लै छ । प्रमाणपत्रमा रहेको प्राप्ताङ्क र स्तरले मात्रै मान्छे पूर्ण हुन्छ त ? हुँदैन । उत्तर सहज छ ।

मान्छेका सिकाइका चरण र विधि भिन्न भिन्न छन् । परिवारदेखि विद्यालय, समाजदेखि विश्वविद्यालय सबै क्षेत्र र तहका सिकाइ र अनुभवले मात्रै व्यक्तिले सही ज्ञान हासिल गर्न सक्छ ।
पहिलेदेखि नै उनको परिवार समाजसेवामा सक्रिय थियो । समाजलाई कुनै न कुनै रुपमा योगदान गरौं भन्ने भावना उनका अग्रजहरुमा थियो । गुल्मी रहँदा होस् वा चितवन झरेपछि होस्, बुवा विष्णुप्रसाद खरेलले अँगालेको समाजसेवाको भावना र कर्मलाई बुझेका डिला खरेलले सानैदेखि बुवाको पदचापलाई पछ्याए ।

शिक्षित र समाजसेवी परिवारमा जन्मिएका डिला खरेलको मनमा बाल्यकालमै प्रवेश गरेको समाजसेवाको भावना झाँगिदै गयो । देशमा रहँदा मात्रै होइन, परदेशमा हुँदा पनि उनीमा समाजसेवाको भावना मौलाइरह्यो । त्यही भावनाकै कारण उनी स्वतःस्फुर्त रुपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आबद्ध हुन पुगे ।

१५ वर्षअघि अष्ट्रेलिया पुगेका डिला खरेल निरन्तर एनआरएन अभियानमा सक्रिय छन् । कहिले पदमा बसेर त कहिले बाहिरै रहेर पनि नेपाली समुदायको हितमा लागिरहेका छन्। भन्छन्, ‘समाजसेवा त रगतमा नै रहेछ क्यारे !’

विना योजना परदेश

तीन छोरी पछिका पहिलो छोरा डिला । उनी जन्मिँदा परिवारमा छुट्टै खुसी र उत्साह थियो । शिक्षाप्रेमी बुवाका छोरा उनलाई नपढाउने त कुरै भएन । तर, पारिवारिक स्थिति र बसाइसराईका कारण बुवाले छोराछोरीको पढाइमा उतिसारो ध्यान दिन भने पाएनन् ।

दुई दाजुभाइमध्येका जेठा डिलाको पढाइलेखाइ सामान्य रुपमा अगाडि बढ्यो । चितवनको साविकको नारायणपुर गाविसमा जन्मेका डिलाको विद्यालय तहको पढाइ गाउँमै भयो । उच्च शिक्षाको अवसर पनि चितवनमै मिल्यो । व्यवस्थापन संकायमा स्नातकोत्तर पुरा गरे ।

पढाइमा अब्बल नै थिए । आमाको चाहना थियो छोरो डाक्टर बनोस् र बिरामीको सेवा गरोस् । बुवाको चाहना थियो बैंकर बनोस् र देशको सेवा गरोस् ।

उच्च शिक्षामा व्यवस्थापन(वाणिज्य) विषय रोज्नु पनि त्यसैको संकेत थियो । वाणिज्य शास्त्रमा शिक्षा दिलाउने र कालान्तरमा बैंकर बनाउने बुवाको योजना अनुसार नै काम अगाडि बढ्दै थियो ।

‘बुवा चाहनुहुन्थ्यो छोराले जागिर पनि खाओस्, त्यसैले भरतपुर नगरपालिका लेखा सहायक र कम्प्यूटर अपरेटर पदमा रहेर चार वर्ष काम गरेँ’ ग्लोबल नेप्लिजसँगको कुराकानीमा उनले आफ्नो प्रारम्भिक जागिरे जीवनबारे अनुभव साटे ।

नगरपालिकाको जागिरले उनलाई चितवनमा रोक्न सकेन । थप अध्ययन र संभावनाका खोजी गर्न भन्दै उनी हानिए काठमाडौं । त्यतिबेलासम्म उनको मनमा कहाँ जाऔं, के गरुँ भन्ने हुटहुटी शुरु भइसकेको थियो । अष्ट्रेलियामा थप अध्ययनका लागि अवसर पाए । त्यही अवसर समाउँदै उनी हानिए अष्ट्रेलिया ।

अष्ट्रेलिया अनुभव

सन् २००६ मा अष्ट्रेलिया पुग्दा त्यहाँ उनका आफन्त कोही थिएनन् । पढाइ र विश्वविद्यालय मात्रै दिमागमा थिए । अकस्मात विदेश हानिएका उनको मनमा खासै चैन थिएन ।
उनी विदेश गएकोमा परिवार पनि खुसी थिएन । विदेशको बसाइ सहज थिएन । ‘म अष्ट्रेलिया आएपछि बुवा त रिसाउनु नै भयो’ उनले भने ‘पढेलेखेका युवाहरु विदेश जाने होइन, देशमै केही गर्नुपर्छ र मुलुक राम्रो बनाउनुपर्छ भन्ने बुवाको चाहना थियो ।’
एकातिर पढाइ, अर्कातिर खर्च व्यवस्थापन । अनि लागे कामको खोजीमा ।

होटल, रेस्टुरेन्टमा जे पाइन्छ, त्यो काम गर्नैपर्यो । सन् २००९ मा एउटा रेस्टुरेन्टमा काम गर्दैगर्दा भाँडा माझ्ने मेसिन चलाउन नजान्दा उनको हातै भाँचियो । ‘आफ्नो दुःख आँफैसँग’ भने झैं कसैलाई सुनाएनन् । तीन महिनापछि हात ठीक भयो । फेरि लागे काम गर्न ।

दुई वटा विषयमा मास्टर्स हुन् उनी । एपीए पूरा गरे । अष्ट्रेलिया छाड्न मन लागेन । फेरि भर्ना भए । एमबीए पनि पूरा गरे । अध्ययनशील डिलाले लेखा, वित्त, कर लगायतका धेरै विषयमा डिप्लोमा गरेका छन् । हाल उनी अष्ट्रेलियाको ‘मोर्टगेज एण्ड फाइनान्स एशोसिएसन’ दर्तावाल प्रशिक्षक हुन् भने त्यहाँका विभिन्न कलेजमा लेखा तथा वित्त विषयमा अध्यापन पनि गर्दै आइरहेका छन् ।

अध्ययनकै क्रममा त्यहाँको पीआरका लागि आवेदन गरेका उनको आवेदन स्वीकृत भयो । पीआर पनि पाए ।
अब भने उनको मनमा हल्का खुसी छायो ।
परिवारलाई सुनाए । पहिले बेखुसी बुवा आमा अब भने बानी पर्दै हुनुहुन्थ्यो । ‘तैपनि विदेशमा धेरै बस्न हुँदैन, पढाइसकेपछि फर्किनुपर्छ भन्नुहुन्थ्यो’ बुवाको भनाइ उनले सम्झिए ।
तर, छोरो भने अष्ट्रेलिया बसाइ लम्ब्याउने योजनामा लागिसकेको थियो । पहिले अर्काको रेस्टुरेन्टमा काम गर्ने ‘कामदार’ डिला खरेल त्यतिबेलासम्म आफ्नै कम्पनी खोलेर ‘मालिक’ बन्ने तयारीमा थिए ।

आफ्नै कम्पनी, आफ्नै काम

विश्वविद्यालयको पढाइ सकियो, पीआर पनि हात लाग्यो । त्यसपछि स्थापना भयो ‘इनोभेटिभ एसोसिएट्स’ ।
लेखा, वित्त, कर र विमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको यो कम्पनीका प्रमुख डिला खरेल हुन् । सिड्नीमा प्रधान कार्यालय रहेको पन्ध्र जना संलग्न यो कम्पनीले चार राज्यमा शाखा विस्तार गरेको छ । टिम मिल्यो, काम जम्यो, अब आम्दानीले पनि पछ्याउन थाल्यो ।

सन् २०११ मा आफैँले कम्पनी खोलेपछि उनको समाजसेवी भावनालाई पनि टेवा मिलेको छ । ‘गोजी भरिलो भएपछि मन पनि फराकिलो हुन्छ’ भने झैं सामाजिक काममा अग्रसर हुन उनलाई सोच्नुपर्ने अवस्था रहेन । पारिवारिक पृष्ठभूमि र नेपालमै हुँदा रोटो¥याक्ट क्लबमा सहभागी भएर काम गरेको अनुभवसँगै एनआरएनएमा उनको सक्रियता पनि बढ्दै गयो ।

एनआरएनए : समाजसेवाको बाटो

सन् २००३ मा स्थापना भएको एनआरएनए २००५ मा अष्ट्रेलिया पुगिसकेको थियो । २००६ मा अष्ट्रेलिया एनसीसीको अध्यक्ष थिए, मन केसी(हालका आइसीसी उपाध्यक्ष) ।
त्यतिबेलै उनले एनआरएनबारे थाहा पाइसकेका थिए । ‘मन केसीकै कार्यकालमा ‘स्टुडेण्ड टास्क फोर्स’मा रहेर काम गरेँ’ उनले आफ्नो पहिलो अनुभव सुनाए ।

त्यसपछि निरन्तर अभियानमा लागेका उनी कहिले पदमा बसे, कहिले बाहिरै बसेर काम गरिरहे ।

काम गर्दै जाँदा उनी राज्य परिषद समितिको सदस्य भए । एनसीसीको कोषाध्यक्ष बने । अर्को कार्यकालमा प्रवक्ता रहे । जतिबेला कार्य समितिको पदमा रहे, उनले संस्थाको गरिमा बढाउने काम मात्रै गरे । ‘हरेक कार्यकालमा सम्झिन लायक काम गरेको छु’ उनको दाबी छ ।

पारदर्शितादेखि नेपाल प्रवर्द्धनसम्म

अष्ट्रेलियामा नेपालीहरुको चाप बढ्दो छ । नेपालीहरु अष्ट्रेलिया जान थालेको पनि निकै वर्ष भइसक्यो । नेपालीहरुको संख्या वृद्धिसँगै विभिन्न नाममा संगठित हुने क्रम पनि बढिरहेको छ । तर, सबैको साझा संस्था भने एनआरएन नै हो ।

अष्ट्रेलिया पुगेसँगै एनआरएनमा आबद्ध भएका डिला खरेल सन् २०१५–२०१७ को कार्यकालका लागि कोषाध्यक्ष छानिए । वाणिज्य तथा व्यवस्थापन शास्त्रका विद्यार्थी डिलाले संस्थाको आर्थिक पारदर्शितालाई पहिलो प्राथमिकतामा राखे । संस्थाको पारदर्शिता र व्यवस्थापन पहिलो शर्त हो, मलाई सहयोग पनि मिल्यो, सफल भएँ, उनले भने ।

नेपाल फेस्टिबल आयोजना गर्ने क्रम शुरु भइसकेको थियो । अष्ट्रेलियाली समुदायलाई नेपालको कला संस्कृति प्रदर्शन गर्नु आफैंमा सह्रानीय थियो । सन् २०११–२०१३ को कार्यकालमा नै नेपाल हाउस स्थापना गरी पशुपतिनाथको मन्दिर निर्माणको काम सम्पन्न भएको थियो । राजधानीमा मात्रै नभई विभिन्न स्थानमा नेपाल हाउस निर्माण गर्ने र नेपाल फेस्टिवल गर्ने क्रमले पनि तीव्रता पाउन थाल्यो ।

त्यही क्रममा उनले एउटा नयाँ योजना अघि सारे ।
त्यो योजना थियो ‘राष्ट्रिय उद्यमी सम्मेलन’को आयोजना । कार्य समितिले साथ दियो । उनले सम्मेलनको संयोजन गरे । सन् २०१७ मा पहिलो राष्ट्रिय उद्यमी सम्मेलन सम्पन्न भयो । सबैको साथ पाएपछि नयाँ काम पनि संभव हुँदो रहेछ, उनले भने ।
एनआरएनको आयोजनामा भएको सम्मेलनमा अष्ट्रेलियाका ख्यातिप्राप्त उद्योगी÷व्यवसायी, सरकारी अधिकारी, बिजनेस काउन्सिल अफ अष्ट्रेलियाका प्रतिनिधिहरु सहभागी भए । त्यसको उद्देश्य नेपाल लगानीका लागि अनुकूल छ, भन्ने स्पष्ट पार्नु थियो, उनले भने ।

त्यसपछि क्रमिक रुपमा दुई दुई वर्षमा उद्यमी सम्मेलनको आयोजना भइरहेको छ । तेश्रो सम्मेलन केही महिनाअघि मात्रै सम्पन्न भएको छ ।

अष्ट्रेलियाली लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक भएको खरेलको अनुभव छ । अब प्रत्यक्ष वैदेशिक लगानीका लागि सहज भएको छ, उनले भने, केही प्रावधानमा नेपाल सरकार र राष्ट्र बैंकले पनि सहजीकरण गरेको छ ।

‘यसको मुख्य उद्देश्य एक एनसीसी, एक लगानी, एक रोजगारी हो’ उनले उद्देश्यबारे थप प्रष्ट पारे ।

नेपाल र अष्ट्रेलियाका बीचमा सम्बन्ध थप बलियो र प्रभावकारी बनाउने उनको चाहना छ । ‘सम्मेलनले पनि त्यसलाई थप बल पुर्याएको छ’ उनले भने । एनआरएनले दुई देशका सरकारहरुका बीचमा पनि पुलको काम गर्न सक्ने उनको बुझाइ छ ।
सन् २००५ मा अष्ट्रेलियामा एनआरएनए स्थापना हुँदा यो संस्था न्यू साउथ वेल्स राज्यमा मात्रै दर्ता थियो । उनी कोषाध्यक्ष हुँदा नै यसलाई केन्द्रीय सरकारको निकायमा दर्ता गर्नुपर्छ भन्ने पहल थाले । अहिले त्यो पहलले पूर्णता पाएको छ ।

डिलाका बारेमा पूर्वअध्यक्ष तुनौ घोतानेले यस्तो टिप्पणी गरेका छन्, ‘ डिला जहिले पनि खास विषय र प्रस्ताव लिएर अगाडि बढ्छन् र त्यसलाई परिणाममा पुर्याएर मात्रै छाड्छन् ।’ घोताने थप्छन्, ‘ एनआरएनए अष्ट्रेलियाको आर्थिक पारदर्शिता, संस्थाको केन्द्रीय स्तरमा दर्ता, राष्ट्रिय उद्यमी सम्मेलन, नेपाल फेस्टिवल, नेपाल हाउसमा नेपाली झण्डाको फरफराहट र उनले थालनी गरेका कामले अहिले पनि निरन्तरता पाउनु अझ महत्वपूर्ण कुरा हो ।’

सन् २०१९–२०२१ कार्यकालका लागि उनी उपाध्यक्ष पदमा उम्मेदवार थिए । तर, चुनावी परिणाम उनको पक्षमा आएन । तै पनि उनी एनआरएन अभियानमा सक्रिय नै छन् । एनआरएनए आइसीसीले गठन गरेको ‘इन्भेष्टमेन्ट एण्ड ट्रेड प्रमोसन’ समितिमा उनी आसियाना क्षेत्रको उपाध्यक्ष हुन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट कम्पनीले नेपालका विभिन्न जलविद्युत आयोजनामा लगानी गरिरहेको छ । तीनै मध्येको एक दोर्दीखोला आयोजनामा अष्ट्रेलियाबाट मात्रै साढे चार करोड बराबरको लगानी जुटेको छ । जसको संयोजन र व्यवस्थापन उनै खरेलले गरेका थिए ।
नेपालमा लगानीका संभावना र नेपाल प्रबद्र्धनका लागि उनी निरन्तर सक्रिय छन् ।

परोपकारी काममा अग्रसर

गैरआवासीय नेपाली संघको एनसीसी होस् वा आइसीसी, जुन समितिमा रहे पनि गर्ने भनेको सेवा नै हो । सामाजिक संस्थामा सक्रिय हुनुको अर्थ नै सेवा हो, उनले राम्ररी बुझेका छन् । संस्थाबाट लिने होइन, दिने हो, सकेसम्म योगदान गर्ने हो, उनले भने ।

२०७२ सालमा नेपालमा भूकम्प जाँदा उनी एनसीसी कोषाध्यक्ष थिए । विश्वभरका नेपालीहरुले सहयोग गर्नु दायित्व नै थियो । विदेशका नेपालीहरुको संयोजन एनआरएनएले गरिरहेको थियो।

अष्ट्रेलियामा पनि सहयोग संकलन तीव्र थियो । कोषाध्यक्ष खरेलको जिम्मेवारी नथपिने कुरै भएन । झण्डै एघार करोड रुपैयाँ संकलन भयो । भूकम्पले नेपालमा जनधनको ठूलो क्षति पुर्याएकोमा मन खिन्न भएपनि सहयोगको व्यवस्थापन गर्दै आइसीसीमार्फत नेपाल पठाउन सक्दा उनको मनले पनि राहत महशुस गरेको थियो ।

त्यसका अलावा उनी ‘हेल्प नेपाल नेटवर्क’ मा पनि उत्तिकै सक्रिय छन् । नेटवर्कका एक संस्थापक सदस्य उनी अहिले अन्तर्राष्ट्रिय कोषाध्यक्ष हुन् । यो नेटवर्क मार्फत पनि डेढ करोड बराबरको सहयोग संकलन गरी नेपाल पठाएको उनी सम्झिन्छन् ।
पछिल्लो पन्ध्र वर्षदेखि निरन्तर एनआरएन अभियानमा सक्रिय डिला खरेल यतिबेला एनआरएन एनसीसी अष्ट्रेलियाको नेतृत्व लिने चाहनासहित अगाडि बढेका छन् ।

सन् २०२१–२०२३ कार्यकालका लागि आगामी जुलाई ३१ मा नयाँ नेतृत्व चयन हुँदैछ । विगतमा गरेका कामको जगमा नयाँ अजेण्डा तय गरी उनी चुनावी अभियानमा लागेका छन् ।

खरेलका योजना

पन्ध्र वर्ष लामो अष्ट्रेलिया बसाइका भोगाइ, संस्थामा रहेर गरेका कामका आधारमा बटुलेको अनुभव र नयाँ योजनासहित डिला खरेल नेतृत्व लिने अभियानमा जुटेका हुन् । भोगाइ र अनुभवले उनमा आत्मविश्वास मात्रै बढेको छैन, उनले नयाँ संभावना पनि देखेका छन् ।

एनआरएनका उद्देश्य विशाल छन् । दायरा फराकिलो छ । तर, यदाकदा यसले आफ्नो उद्देश्य बिर्सेको हो कि भन्ने आलोचना हुन थालेको छ । यसलाई चिर्ने उनको योजना छ । उनी भन्छन्, हामी खुम्चिएको हो कि भन्ने छ, दायरा फराकिलो बनाउने मेरो योजना छ ।

नेपाली समुदायलाई अष्ट्रेलियाको सरकारले राम्रो मान्छ । तर, नेपाल र नेपाली समुदायले त्यसको लाभ लिन सकेको छैन । अष्ट्रेलियाली सरकारसम्म पहुँच नहुँदा पनि त्यसो भएको हुनसक्ने उनको बुझाइ छ । सरकारसँग समन्वय गरी नेपाल र नेपाली समुदायले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउने उनको अर्को अजेण्डा छ ।

नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने त उनको मुख्य अजेण्डा नै छ । दूतावासलाई थप प्रभावकारी बनाउने र प्रत्यक्ष वैदेशिक लगानी बढाउने योजना उनको छ । उद्यमी सम्मेलनको अन्तर्य ‘एक लगानीः एक रोजगारी’ नीतिको प्रभावकारी कार्यान्वयन पनि उनको अर्को अजेण्डा हो ।

नेपालमा जस्तो राजनीतिक खिचातानी जस्तो हुन्छ, त्यस्तै हावा वहन्छ विदेशतिर । विदेशमा रहेका नेपालीलाई पनि त्यो हावाले छोपिहाल्छ । तर, यस्तो प्रवृत्तिलाई नयाँ पुस्ताले राम्रो मान्दैन । त्यो हावा एनआरएनमा सल्केको कतिपयको गुनासो छ । यो अवस्था हटाउने उनको उद्देश्य छ । ‘एनआरएन सबैको साझा संगठन हो, यसलाई गैरराजनीतिक रुपमा सबैको साझा बनाउने र नयाँ पुस्ताको पनि भरपर्दो संस्था बनाउने मेरो योजना छ’, उनले बेलिविस्तार लगाए ।

जति गरे राम्रै गरे । अझै गर्नुपर्ने काम धेरै छन् । तीमध्येको एउटा काम हो, अष्ट्रेलिया जाने विद्यार्थीहरुले भोग्नुपर्ने समस्याको सामाधान ।

विद्यार्थीका साथी

अष्ट्रेलिया नेपालीहरुका लागि शैक्षिक गन्तव्य नैै हो । वर्षेनी हजारौं विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया पुग्छन् । अहिले पनि करिव सत्तरी हजारको हाराहारीमा नेपाली विद्यार्थी छन्, अष्ट्रेलियामा ।

डिला स्वयम् अध्ययनका लागि अष्ट्रेलिया गएका व्यक्ति हुन् । तसर्थ, त्यहाँ विद्यार्थीहरुले भोग्नुपर्ने समस्या बारे उनी राम्ररी जानकार छन् । नयाँ देश, नयाँ ठाउँ, नयाँ परिवेश विद्यार्थीका लागि समस्या हुने नै भए । स्थानीय भूगोल, रहनसहन र ऐन नियमको जानकारी नहुँदा पनि थुप्रै विद्यार्थीले समस्या खेपिरहनु परेको छ । कतिपयको त ज्यानै जाने गरेको छ ।
उनको योजना छ, अष्ट्रेलिया जाने विद्यार्थीलाई जानु अघि नेपालमै ‘ओरिन्टेसन’ दिनु ।

अष्ट्रेलियाको बारेमा हाते पुस्तिका तयार पारी नेपाल पठाउने उनको योजना छ । राष्ट्र बैंक, शिक्षा मन्त्रालय, अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समेत यस बारेमा सहकार्य गर्ने योजना उनले बनाएका छन् ।

विद्यार्थी र तिनका अभिभावकले अष्ट्रेलियाका बारेमा जानकारी लिएपछि मात्र शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ पाउने व्यवस्था गर्न उनी लागि परेका छन् । ‘त्यसका अलावा एनआरएनएको कार्यालयमा नै महिनामा कम्तीमा एउटा ओरिन्टेसनको आयोजना गर्ने र त्यसमा विद्यार्थी र अभिभावकलाई सहभागी गराउने काम गर्न सकियो भने पनि यहाँ आएपछि हुनसक्ने थुप्रै दुर्घटनामा कमी आउने छ’ उनले योजना सुनाए ।

अधिकांश विद्यार्थी सशुल्क अध्ययनका लागि अष्ट्रेलिया पुग्छन् । कलेजलाई बुझाउनुपर्ने शूल्ककै लागि पनि काम गर्नुपर्ने हुन्छ । पढाइ छाडेर काममा लाग्दा पढाइ प्रभावित हुने निश्चित नै हुन्छ । यसलाई कम गर्न उनले ‘एनआरएन छात्रवृत्ति’को योजना अगाडि सारेका छन् ।

डेढ दशक लामो अनुभव र युवा जाँगरका साथ एनसीसीको नेतृत्वका लागि होमिएका डिला खरेलले दृष्टिकोण भएको र परिणामुखी काम गर्ने व्यक्तिको पहिचान बनाएका छन् । अभियान सञ्चालन गर्दै गर्दा उनले अधिकांशबाट सकारात्मक प्रतिक्रिया पाएका छन् । अष्ट्रेलियामा रहेका नेपालीहरुको सकारात्मक प्रतिक्रियाबाट खरेल उत्साहित देखिएका छन् ।

प्रकाशित मिति: २१ असार २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com