काठमाडौं । इलेक्ट्रिक सिगरेटमा राखेर करिब ९ केजी सुन तस्करी भएको घटनामा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको नामसमेत मुछिएको छ।

घटनाको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले विमानस्थल भन्सार कार्यालयले रोकेको सामानबारे महरा बाबुछोराले तारन्तार भन्सारका अधिकारीसँग फोनमा कुरा गरेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको थियो।

भन्सारका कर्मचारी मुक्तिप्रसाद श्रेष्ठले राहुलले रोकिएको सामान के–कस्तो हो भनेर चासो राखेको बयान दिएका थिए । चिनियाँ नागरिकले ल्याएको इलेक्ट्रिक सिगरेट विमानस्थलमा भएको एक्स रे परिक्षणमा शंकास्पद देखिएपछि जफत प्रयोजनका लागि भन्सार कार्यालय पठाइएको थियो।

दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७ सय ३० वटा इलेक्ट्रिक सिगरेट थिए । सामान जफत भएको केही समयमै ती चिनियाँ नागरिक स्वदेश फर्किए ।

तर भन्सार कार्यालयकै कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगेरेटभित्र रहेको ९ केजी ११.५२४ ग्राम सून गायब पारियो । भन्सारका कर्मचारीदेखि गायब बनाउने र खरिद गर्ने प्रकृयामा संलग्नहरु पक्राउ परेपनि त्यो सामान ल्याउने व्यक्तिहरु पक्राउ पर्न सकेका छैनन् । अनुसन्धानमा भन्सारमा रोकिएको उक्त सामानबारे चासो राखेका महरा बाबुछोराको यो प्रकरणमा कनेक्सन देखिएको भनेर लिंक चार्टसमेत सीआईबीले प्रतिवेदनमा पेश गरेको थियो ।

‘तर, मुक्तिले महरा बाबुछोराले रोकिएको सामान छुटाउन दबाब दिएको भनेर बयान दिएको पाइएन । त्यसैले उहाँहरुलाई अनुसन्धानमा तान्न सकिने अवस्था भएन । सामानका मालिकहरु पक्राउ पर्दा मात्र उनीहरुको संलग्नताबारे भन्न सकिने अवस्था थियो’, सीआईबीका उच्च अधिकारी भन्छन् ।

अनुसन्धानमा नल्याइएका व्यक्तिलाई किन लिंक चार्टमा समावेश गरिएको हो भन्नेबारे ती अधिकारी फोन सम्पर्कमा देखिएका व्यक्तीलाई चार्टमा देखाइनु स्वभाविक भएको बताउँछन् ।
‘यो घटनामा महरा बाबु छोरा मात्र होइन चिनियाँ नागरिक र भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको छैन । यसको मतलब यो अनुसन्धान अझै सकिएको छैन । पक्राउ परेका बखत पुरक अभियोगपत्र फेरी लगिने छ’, ती अधिकारीले भने।
प्राविधिक अनुसन्धानमा सम्पर्कमा रहेका व्यक्तीलाई लिंक चार्टमा हटाउन नमिल्ने सीआईबी स्रोत बताउँछ । ‘यदि त्यसरी हटायो भने प्रहरीले जोगायो भन्ने आरोप लाग्छ । लिंकमा देखिएका व्यक्तीलाई चार्टबाहिर राख्न पनि मिल्दैन’, सीआईबी अधिकारी भन्छन् ।

भन्सारमा जफत प्रयोजनका लागि ल्याइएको इलेक्ट्रिक सिगरेटभित्र रहेको सुन गायब बनाइएको पाइएपछि विमानस्थल भन्सार कार्यालयले अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । सीआईबीले पक्राउ गरेकामा सुन ल्याउने गिरोहका कोही पनि छैनन् । सुन ल्याउने गिरोहका कसैलाई पनि प्रतिवादी बनाइएको छैन ।

सुन गायब बनाउने र गायब बनाएको सुन खरिद गर्ने समूह मात्र अनुसन्धानको दायरामा आएको छ । ‘नेपालमा त्यसरी इलेक्ट्रिक सिगरेटमा सुन ल्याउने गिरोहमाथि अनुसन्धान जारी नै छ,’ सीआईबी स्रोत भन्छ ।हाल प्रतिवादी बनाइएका ९ जनामध्ये ३ जना फरार छन् । ६ जनामध्ये ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । एक जना भने छुटेका छन् ।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com