काठमाडौं । संखुवासभाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा संखुवासभाको मादी नगरपालिका- ५ का विनोद तोलङ्गगी र नुवाकोटको ककनी गाउँपालिका-७ का आकाश बलामीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
कैदीबन्दीबीच झडप हुँदा घाइते भएका उनीहरूको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । बलामीले चाेरी मुद्दामा र ताेलाङ्गीले बलात्कारको अभियोगमा जेलजीवन बिताइरहेका थिए ।
‘कारागारबाट भागेका दुवै जनालाई प्रहरीले पक्राउ गरेर फेरि जेलमै राखेको थियो । पछि फेरि विवाद हुँदा झडप भएको रहेछ । बिहान थाहा भएपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो,’ प्रजिअ कार्कीले भने ।
कार्कीका अनुसार विनोद र आकाश भाग्ने उद्देश्यले जेलको शौचालयको रड काटेर बाहिर निस्किएका थिए । तर, ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जेलमै राखेको थियो ।
प्रजिअ कार्कीले कारागारभित्र कैदीबन्दीबीच भएको झडपको घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘के कति कारणले घटना हुन पुग्यो । यसबारे हामीले अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार
प्रतिक्रिया