काठमाडौं । केही दिनयता जुम्लाको गुठीचौर गाउँपालिका-४ का घरहरूमा आगलागीका शृङ्खलाबद्ध घटना भए । तर, यो कुनै दुर्घटना थिएन । एक व्यक्तिको उपद्राे थियो । र, ती व्यक्तिले यसो गर्नुको कारणचाहिँ अनौठो छ ।

गाउँमा घर, गाेठ र सवारीसाधन खोजीखोजी आगो लगाउने व्यक्ति ३० वर्षे रत्नप्रसाद अधिकारी हुन् । नेपाली सेनाका पूर्वसिपाही उनी चन्दननाथ नगरपालिका- २, भण्डारीवाडामा घरज्वाइँ बसिरहेका छन् ।

उनले गाउँका घरमा आगो लगाउनुको कारणबारे प्रहरीमा बयान पनि दिइसकेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, आफू गरिब भएकाले कसैले पनि ऋण/उधारो नपत्याउने भएपछि निराश भई घरघरमा आगो लगाउँदै हिँडेको अधिकारीले बताएका छन् । उनलाई ६ साउनमा प्रहरीले चन्दननाथ नगरपालिका-१, रानास्थित एक घरको ढोका ढकढकाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

त्यो बेला उनी मुखमा कालो मास्क लगाएर, ४ फिट लामो, मोटो लौरो बोकेर घरघरका ढोका ढकढक्याउँदै ‘को छ घरमा ? यहाँ बास पाइन्छ कि पाइँदैन ?’ भन्दै सोधिरहेका थिए । प्रहरीका अनुसार, घर कहाँ हो भनेर सोध्दा उनले ‘आचार्यवाडा’ हो भनेपछि स्थानीयले प्रहरी कन्ट्रोल १०० मा रक्सी खाएर एक व्यक्तिले दुःख दिएको भन्दै खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट तुरुन्तै प्रहरीको एक टोली पुगेर नियन्त्रणमा लिन खोज्दा अधिकारीले गाली गर्दै लौरोले हान्न खोजेका थिए । प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा चलाएकाे छ ।

यसअघि उनले २६ असार राति तल्लो बिगारेस्थित टिन प्रयोग गरी बनाइएको गोदाममा चोरी गर्ने प्रयास गरेका थिए । तर, टिनको आवाज आउने भएपछि त्यहाँबाट उनी सिधै गुठिचौरी गाउँपालिकास्थित कृष्णबहादुर अधिकारीको पसलमा पुगे । कृष्णबहादुरसँग उनको रिसईबी पनि रहेछ । त्यसैको बदला लिन भन्दै पसल चोर्न कस्सिएका उनले ताला फोड्न भने सकेनन् ।
अनि भोलिपल्ट २७ असारमा बिहान ३ बजेतिर उनले भान्सा घरअगाडि पार्किङ गरी राखेको अटोमा आगो लगाइदिए । उनले कृष्णबहादुरलाई नै ‘टार्गेट’ गर्नुको पछाडि पुरानो लेनदेन मुख्य कारण भएकाे प्रहरीसामु बताए ।

त्यसपछि प्रहरीले अटो धनीलाई समेत बोलाएर सोध्यो, ‘तपाईं र रत्नप्रसादबीच कुनै रिसईबी छ ?’ कृष्णबहादुरले चामलको विषयलाई लिएर पहिलो वादविवाद भएको जवाफ दिए । त्यसपछि कृष्णबहादुरबाट जाहेरी लिएर प्रहरीले रत्नप्रसादविरुद्ध मुद्दा अघि बढायाे ।

खासमा नेपाली सेनाको ब्यारेकबाट भूपू र बहालवाला कर्मचारीहरूका लागि दिने सहुलियत चामल मिलाइदिन्छु भनेर रत्नप्रसादले गत वर्ष चैतमा कृष्णबहादुरसँग ७५०० रुपैयाँ लिएका रहेछन् । त्यसपछि उनी गायब भए ।

तीन महिनापछि अटो रिक्सा धनी कृष्णबहादुरले चन्दननाथ- ५ स्थित एनआईसी एसिया बैंककै छेउमा रत्नप्रसादलाई भेटे । उनले चामल दिलाउन नसक्ने भए पैसा फिर्ता दिन भने । तर, रत्नप्रसादले बाङ्गाबाङ्गा कुरा गरे । उनीहरूबीच विवाद भयो । यसै क्रममा कृष्णबहादुरले आफ्नो पैसा नदिए तेरो ब्यारेकमा निवेदन दिन्छु, तँ आर्मीले फुर्ती लाउनु पर्दैन भनी चेतावनी दिए ।
सार्वजनिक स्थानमा गाली खाएको रिसमा रत्नप्रसादले कृष्णबहादुरको पसलमा चोरी गर्न खोजेका थिए । तर, पसलको ताला फोड्न नसकेपछि बिहान उज्यालो नहुँदै उनले कृष्णबहादुरको अटो रिक्सामा आगो लगाइदिए ।

२ साउनमा रत्नप्रसाद चन्दननाथ नगरपालिका- १ मा निस्किए । अनि दिउँसोतिर ५२ वर्षे साउनेखर कामीको गुठिचौर- ५ मा रहेको गाई, भैँसी पाल्ने कच्ची गोठ (आटी) मा पुगे । गोठमा थिए साउनेखर र उनकी ५० वर्षीया श्रीमती पच्चकली कामी ।

रत्नप्रसादले उनीहरूसित सोधपुछ गरे- यो गोठमा को-को बस्नुहुन्छ ? छोराहरू कति जना छन् ?  विदेश गएका छन् कि छैनन् ? यता आसपास अरु गोठमा मान्छे बस्छन् कि बस्दैनन् ?
साथै उनले असार २७ गते बालु भन्ने ठाउँमा अटो जलेको तपाईंहरूले थाहा पाउनुभयो कि भएन, अटोमा आगो लगाउने मान्छे पत्ता लाग्यो कि लागेन भनेर पनि सोधे ।
त्यसपछि उनी वनस्पति कार्यालयतिर लागे ।
प्रहरीलाई दिएको बयानमा उनले बताएअनुसार, ३ साउन बिहान २ः४५ बजे उनी साउनेखरकी श्रीमती पच्चकलीको गरगहना लुट्ने योजना बनाएर त्यहाँ पुगेका थिए । तर, त्यहाँ कोही नभेटिएपछि रिसले चुरचुर भएर उनले गोठमा आगो लगाइदिए ।
साउन ५ गते रत्नप्रसादले डाँडाखोज बस्ने ५१ वर्षे रनबहादुर बुढाको ढुंगामाटोले बनेको २ तले कच्ची घर छिरेरे लुट्ने योजना बनाए । घरमा रतनबहादुर र उनकी श्रीमती सुतिरहेका थिए । बाहिरबाट रत्नप्रसादले ढोकाको लक खोल्न खोजे तर सकेनन् । त्यसपछि उनले घरको दोस्रो तल्लाको बार्दलीमा झुण्ड्याइएको डस्नामा आगो लगाइदिए । यद्यपि, घरमा धेरै क्षति हुन पाएन ।
यति उपद्रो गरेर उनी डेढ घण्टा जंगलको बाटो हिँडेर गुठिचौर-४ तिर लागे ।
साउन ५ गते राति ११/१२ बजेतिर उनले गुठिचौर-४, बिगारै बस्ने ५६ वर्षे भीमप्रसाद जैसीको ३ तले कच्ची घरको भुईं तला गोठमा गहुँको भुस राखेको ठाउँमा आगो लगाइदिए ।
त्यसपछि मूल सडकमा झरेका उनी ४५ मिनेटको दूरीमा रहेको खल्लावाडा भन्ने ठाउँतिर लागे ।

६ साउनको राति १ बजे खल्लाबाडाका ५३ वर्षे लालचन्द्र सार्कीको २ तले कच्ची घरको भुईं तलाको गोठभित्र रहेको सुकेको घाँसमा उनले आगो लगाइदिए । त्यहाँ पनि सामान्य क्षति भयो ।

त्यसपछि उनी सोही वडाको डाँडावाडा (क) तिर हिँडे ।
६ गते नै राति डाँडावाडाका ५९ वर्षे कविदत्त न्यौपानेको ४ तले कच्ची घरको भुईं तलाको आँगनको झ्यालनजिकैको खाटामा डस्ना, तन्ना र दियालोमा आगो लगाइदिए । यसबाट झ्याल र बार्दलीमा क्षति भएको थियो ।

सोही दिन करिब साढे १ बजेतिर कविदत्तकै घरछेउको गोठमा रहेको निगालोमा आगो लगाए र नजिकै रहेको पानी ट्याङ्कीबाट पानी पिएर फेरि त्यही घरको काठको भर्‍याङमा रहेको रातो लेडिज चप्पलमा आगो लगाइदिए ।
त्यहाँबाट उनी लाइटर बोकेर धवलपुराका ६९ वर्षीय खडानन्द पाण्डेको घरमा पुगे । खडानन्दको ३ तले कच्ची घरको भुईं तलाको दक्षिण मोहडा भएको झ्यालसँगै जोडिएको खाटामा आर्मी कलरको ज्याकेट थियो । त्यही ज्याकेटमा आगो झोसिदिए ।
त्यसपछि उनले धवलपुराकै ३५ वर्षे प्रेमप्रसाद न्यौपानेको घरमा गएर महिलाले लगाउने सुरुवाल झिकेर ढोकामाथिको ग्यापमा राखे र सुरुवालमा लाइटर बालेर आगो लगाइदिए ।
त्यहाँबाट बिहानको सवा ३ बजे उनले वडा नम्बर ५ धितागाउँनजिकै सडक स्तरोन्नतिको कामको सिलसिलामा पार्किङ गरी राखेको रारा तेन्जिन कन्स्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्रयाक्टरमा अगो लगाए ।

‘रत्नप्रसाद अधिकारीसँग श्रृङ्खलाबद्ध आगजनीको कारणबारे प्रारम्भिक सोधपुछ गर्दा निजले आफू गरिब भएकाले कसैले पनि ऋण/उधारोसमेत नपत्याउने/नदिने भएपछि निराश भई यस्तो कार्य गरेको भनी खुलाएको,’ जिल्ला प्रहरी कार्यालय जुम्लाको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com