काठमाडौं । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा देखिएको हृदयविदारक तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

बस र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भई खुट्टाबाट सडक नै रगताम्मे हुने गरी रक्तस्राव भइरहेका दोलखा बैतेश्वर गाउँपालिका– ७ का २३ वर्षीय विश्वराज श्रेष्ठ दुर्घटना भएकै सडकमा झन्डै आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरिरहेका थिए । तर, घटनास्थलमा उभिएको भिडले उनको उद्धारमा चासो गरेन, उल्टै केही मानिस त्यो हृदयविदारक तस्बिर र भिडियो खिच्न लागिरहेको देखिन्छ।

दुर्घटना भएको झन्डै आधा घन्टापछि प्रहरी चौकी लिसंखुपाखरका प्रहरी सहायक निरीक्षक नेत्र काफ्लेको टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले लिसंखुपाखर गाउँपालिका– ६ को एम्बुलेन्स मगाएर घाइते श्रेष्ठलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल पुर्‍याएको थियो । अस्पतालले रक्तस्राव रोक्न नसक्ने र तत्काल काठमाडौं लैजान भनेपछि श्रेष्ठलाई काठमाडौं लगिएको थियो।

दुईजना प्रहरीले एम्बुलेन्समा काखमा राखेर लगिरहेका विश्वराज बाटोभरि छटपटाउँदै प्रहरी र एम्बुलेन्सचालकलाई अंकल गाडी छिटो हाँक्नु न मलाई छिटो अस्पताल पुर्‍याउनु भन्दै रोइरहेका थिए । अत्यधिक रक्तस्रावका कारण विश्वराजले काभ्रेको साँगा पुग्दानपुग्दै देहत्याग गरे । प्रहरीका अनुसार उनलाई धुलिखेल अस्पताल राख्न खोजिएको थियो, तर परिवारका सदस्यले बी एन्ड बी अस्पताल नै ल्याउन भनेपछि धुलिखेल अस्पताल गेटबाटै फर्काइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख मुकेश न्यौपानेले बताए ।

रोजगारीका लागि फ्रान्स जाने कागजात बोकेर काठमाडौं हिँडेको छोराको मृत्युपछि अचेत छन् बाबुआमा 

मंगलबार दिउँसो झन्डै ३ बजे ललितपुुरको बी एन्ड बी अस्पतालको इमर्जेन्सी कक्षमा पुर्‍याइएका विश्वराजलाई तत्काल चिकित्सकहरूको टोलीले मृत घोषणा गरेको थियो।

रोजगारीका लागि आवश्यक कागजात बोकेर काठमाडौं हिँडेका छोराको मृत्यु भएपछि बुबा विष्णु श्रेष्ठ र आमा बुना श्रेष्ठ मंगलबारदेखि नै बेहोस छन् । विष्णुका दुवै छोरी अचेत भएपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको बैतेश्वर–७ दोलखाका वडाध्यक्ष मीनकुमार सिवाकोटीले जानकारी दिए । बुधबार साँझ पोस्टमार्टमपछि पशुपति आर्यघाटमा विश्वराजको दाहसंस्कार गरिएको उनले बताए ।

प्रहरी भन्छ– दुर्घटनाको जानकारी नै ढिला आयो
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले दुर्घटनाको खबर नै प्रहरीलाई ढिलो आएको जानकारी दिए । ‘हामीलाई खबर नै ढिलो गरी प्राप्त भयो, खबर पाएको पाँच मिनेट नपुग्दै प्रहरी घटनास्थल पुगेको छ,’ उनले भने । प्रहरी पुग्नासाथ लिसंखुपाखर– ६ को एम्बुलेन्स मगाएर घाइतेलाई अस्पताल पठाइएको न्यौपानेको भनाइ छ । उनले प्रहरीले अधिकतम प्रयास गर्दा पनि घाइते श्रेष्ठको निधन भएकोमा आफूहरूलाई दुःख लागेको बताए ।

बैतेश्वर गाउँपालिका– ७ का वडाध्यक्ष मीनकुमार सिवाकोटीले बसले ठक्कर दिएर मान्छे मर्दा पनि यातायात समितिले चासो नदिएको बताए । बसका चालकले सोही बस प्रयोग गरेर घाइतेलाई अस्पताल लगेको भए यो अवस्था नआउने उनको भनाइ छ । ‘गाडीले किचेर मान्छे मर्दा पनि यातायात समिति बेखबर हुनु दुर्भाग्य हो । मृतकको परिवार यातायात समिति खोज्दै हिँड्नुपर्ने, सयौँ मान्छेहरू घाइतेको उद्धार गर्न छाडेर रमिता हेरिरहने, उल्टै फोटो–भिडियो खिचेर बस्दै गर्दा यो समाज कता जाँदै छ भन्नेमा गम्भीर समीक्षा गर्ने समय आएको छ,’ सिवाकोटीले भने ।

नयाँ पत्रीका

प्रकाशित मिति: २५ श्रावण २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com