काठमाडौं । शक्तिकेन्द्रको बेवास्ता गर्दै बहालवाला सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गरेका भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । संगठनभित्र उच्च व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका खत्रीलाई सोमबार गृहमन्त्रालयले काठमाडौं प्रहरी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो ।

 

पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बनाउँदै गर्दा विस्फोट भएर ज्यान गुमाएका र घाइते भएकालाई इटाभट्टाभित्र हालेर हत्या गरेको आरोप आलममाथि लागेको थियो । घटनाको झण्डै १२ वर्षपछि खत्री रौतहट प्रहरी प्रमुख रहेका बेला आलमलाई पक्राउ गर्न आफैं पुगेका थिए।

त्यतिबेला प्रहरी प्रधान कार्यालयले आफूले पक्राउ गरे जसरी विज्ञप्ति निकाले पनि खत्रीले जिल्ला प्रहरी कार्यालयका रुपमा अर्को विज्ञप्ति निकालेर तत्कालीन प्रहरी नेतृत्वलाई काउन्टर दिएका थिए । खह्रो र हार्डलाइनर स्वभावका मानिने खत्री त्यसयता काभ्रेको प्रहरी प्रमुख भएर पनि काम गरेका थिए । २०५६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवा थालेका खत्री आफ्नो ब्याचबाट एसएसपीको बढुवा निस्कँदा दोस्रो नम्बरमा रहेका थिए।

गृह मन्त्रालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पनि नेतृत्व परिवर्तन गर्दै त्यहाँ एसएसपी सोमेन्द्रसिंह राठोरलाई पठाएको छ। राठोर पनि खत्रीका इन्सपेक्टर ब्याची हुन् । उनीहरु एउटै मितीमा एसएसपीमा बढुवा भएका थिए। खत्रिभन्दा एक वर्षअघि प्रहरी सेवा सुरु गरेका राठोर यसअघि पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर काम गरिसकेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com