एजेन्सी । चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गरेको छ । उसले उक्त नक्सालाई ‘स्टान्डर्ड म्याप’ भनेको छ ।नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।

अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’

ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको केही दिनअघि मात्र भेट भएको थियो । सो भेटमा दुई देशको सीमा विवादको बारेमा छलफल भएको बताइएको बेला यो नक्सा जारी भएको हो ।

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशको ११ स्थानको नाम बदल्ने अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आएको छ । उता भारतले पश्चिम अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर क्षेत्रमा चीनले अवैध रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com