काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा अस्ट्रेलियामा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सिन्धुले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको उल्लेख गरेकी छन् । आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलियाले समयमा भिसा नदिएको भन्दै उनले तीजको अवसरमा त्यहाँ हुने आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको समेत जानकारी गराएकी छन् ।

सिन्धुले लेखेकी छन्, ‘समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पूर्वनिर्धारित मेरा सम्पूर्ण कार्यक्रमहरु रद्द भएका छन् । म अष्ट्रेलियामा तीज विशेष कार्यक्रममा आउन नसकेकोमा सम्पूर्ण आदरणीय दर्शक-श्रोताज्यूहरुसँग क्षमा माग्दछु । कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने  कार्य नगर्नुहोला । यसको असर अन्य सच्चा कलाकारहरुलाई पर्दो रहेछ । विदेशमै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रक्रिया पूरा गरेर बस्न सक्नुहुन्छ ।’
उनले आफ्नो झण्डै तीन दशकको गायन यात्रामा पहिलो पटक अष्ट्रेलियाले समयमा भिसा नदिएको बताएकी छन् । ‘नेपालमा मन्दी छ, नेपाली कलाकारहरु विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन् भन्ने रहेको छ । संसारका ठूला देशहरु अमेरिका, बेलायत, क्यानडा, युरोप, जापान लगायतका २० वटाभन्दा बढी देशमा पटकौं कार्यक्रम गरेर समयमै नेपाल फर्केको मेरो रेकर्ड छ’ सिन्धुले भनेकी छन्, ‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भएको छैन । अष्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनु अगावै नेपाल फर्किएको रेकर्ड छ । तर यो पटक अष्ट्रेलियाले समयमा भिसा नदिनुलाई मैले मेरो कलाकारिताको अपमान ठानेकी छु ।’

सिन्धुले यस विषयमा नेपाल सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com