काठमाडौं । काठमाडौंको गैह्रीगाउँस्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपीतले अन्यत्र पनि हत्या गरेको दाबी गरेका छन्।

हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका संजय भण्डारीले काठमाडौँमा अन्य दुई ठाउँमा हत्या गरेको जिकिर गरेका हुन् ।

उनले भदौ २९ मा राति सः मिलमा नवीन राई, कुमार भुजेल, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका संजय जन्मजात नै बोल्न सक्दैन थिए । फरक क्षमता भएका संजयलाई प्रहरीले दोभाषेको सहयोगमा लेख्न लगाएर सोधपुछ गरिरहेको छ।

सोधपुछ गर्दा उनले नक्सालस्थित भाटभटेनी, धुम्बाराही र रातोपुलमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरु चकित भएका छन् । संजय ‘सिरियल किलर’ हुनसक्ने आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौँले उनले दाबी गरेका घटनाहरुबारे पनि अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले आरोपीतलाई लगेर भाटभटेनी र रातोपुलको घटनास्थल निरीक्षण गरेका छन् । अनुसन्धान अधिकृतहरुले उनले दाबी गरेका कुराहरु पुष्टि गर्ने प्रयास गरिरहेका छन् । हत्या गरेको दाबी गरेपनि उनले मिति स्पष्ट भन्न सकेका छैनन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘उनले भनेका कुरा सत्य हुन वा हैनन् भन्नेबारे हामी पुष्टि गर्ने प्रयासमा छौँ ।’

नक्सालमा ब्रेल लिपिको माध्यमबाट उनले १२ कक्षासम्म पढेका छन् । बालमन्दिरमा पढ्न जाँदा उनी पैदल हिँडेर काँडाघारीस्थित दिदी–भिनाजुको घरबाट आउजाउ गर्थे । एकजना व्यक्तिसँग १३ हजार लिनुपर्ने तर, नदिएपछि हत्या गरेको उनले अनुसन्धान अधिकृतहरुसँग दाबी गरेका छन् ।

पक्राउ परेको दिन उनले लेखेका थिए,‘आई किल्ड फोर पिपुल ।’ उनी नेपाली र अंग्रेजीमा लेखेर प्रहरीले भाषा सहयोगीमार्फत सोधेका प्रश्नको जवाफ फर्काउँछन् ।

प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com