काठमाडौं । इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितिन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् ।

मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन् । उनको प्रस्तुति सकिएपछि केहीबेरसम्म जजहरूमा शन्नाटा छायो । त्यसपछि सबै जजेजहरू श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिए ।

स्टान्डिङ अवेसनपछि भावुक हुँदै विशालले भने, ‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ। ’

त्यस्तै श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन् । मेनुकालाई धन्यवाद दिँदै आशिसले थपे,‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ । जसको कारण तिमी हौ ।’

यसपछि मेनुकाले विशालको कम्पोजिसनमा गाउने चाहना पनि व्यक्त गरिन् । यदि आफ्नो भाग्यमा त्यस्तो सहकार्य लेखेको छ भने अवश्य हुने आशिसले बताए ।

अन्तिममा श्रेयाले थपिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका । यही कारण मलाई मजा आयो । मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ ।’ साथै आफूले मेनुकाको आवाजमा ईश्वर देखेको पनि श्रेयाको भनाइ थियो । यसपछि तीनै जजहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिन्छन् ।

झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

मेनुकाको उक्त प्रस्तुति अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनलाई नेपाली संगीतकर्मीहरुले बधाई दिइरहेका छन् । मेनुकाको गायकीलाई संगीतका त्यस्ता उस्तादहरुले स्टान्डिङ अवेसन दिनु धेरै ठूलो कुरा हो भनिरहेका छन् । नेपाली संगीतप्रेमीले पनि मेनुकाप्रति गर्व महसुस गरिरहेका छन् ।

मेनुकाहरुको होइन, भेलु बाजे र कलाैटेहरुको डिमान्ड छ

झापाकी मेनुका एक दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छिन् । संगीतमा आफ्नो उज्ज्वल भविष्य बनाउन संघर्षरत छिन् । उनको गायकी कलाको सबैले तारिफ पनि गर्छन्।

तर, वर्तमान नेपाली संगीतले मेनुकालाई होइन, भेलु भाजे र तेजेन्द्रपरियार कलाैटेहरुलाई खोजिरहेको समय हो यो । कोही मान्छे कुनै अन्टसन्ट र चटक गरेर चर्चामा आउनासाथ गल्लीगल्लीमा छ्यापछ्याप्ती रहेका स्टुडियोहरुमा लतारेर पु¥याइन्छन् । बेसुरा गीतहरु गाउन लगाइन्छन् । अटो ट्युनको मद्दतले स्वरहरुलाई ठासठुस पारेर मिलाइन्छन् ।

र, संगीतमाथि न्यूनतम ज्ञान नभएका उनीहरु नेपाली संगीतको क्षेत्रमा गायक/गायिकाको अवतारमा पदार्पन हुन्छन् । उनीहरुको गायकी होइन, गायकीमार्फत् उनीहरुले देखाउने मजाक हेर्न भीड जम्मा हुन्छ । स्टेज शो पाउँछन्, सेलिब्रेटी हुन्छन् ।

साधनाले निखारिएको गलामा माधुर्यता भएका मेनुकाहरु गुमनाम हुँदै गर्दा भेलु बाजेहरु किन व्यस्त भइरहेका छन् ? संगीतकार आशिष अविरलको विश्लेषण छ, यस्तो हुनु भनेको संगीतमा लागेकाहरुको फ्रस्टेसनको पराकाष्ठा हो ।

अविरल भन्छन्, ‘जो भाइरल भएका छन्, तिनलाई ल्याउँदा डलर आउँछ कि भन्ने समूहको चरम फ्रस्टेसन हो यो । यहाँ जसरी हुन्छ, मान्छेलाई हिट हुनु छ । उनीहरु चरम फ्रस्टेसनमा छन् । त्यसैले उनीहरु छोटो बाटो खोजिरहेका छन् । त्यही कारणले गर्दा नेपाली संगीतमा समस्या आइरहेको छ ।’

गर्न खोज्दा पनि भने जस्तो काम नपाएपछि अहिले इन्डियन आइडलमा पुगेकी छन् मेनुका । २०७४ सालमै नेपाल आइडलमा भिडेकी उनी २०७५ सालमा भारतकै रियालिटी शो सारेगमपसम्म पुगिन् । रियालिटी शोमा भिडेको छ वर्षपछि आहिले पनि उनी रियालिटी शोमै भिडिरहेकी छन् । तर, टिकटक या युट्युबतिर अन्टसन्ट गरेर भाइरल भएकाहरुलाई कथित गीत रेकर्डिङका लागि भ्याइनभ्याइ छ ।

मेनुकाहरुलाई बिर्सिएर नेपाली संगीत भेलु बाजेहरुको पछि लागेको दृश्य नौलो होइन । एकाध राम्रा संगीतकारहरुले नेपाली संगीत बचाएका त छन् । तर, उनीहरुले सुन्दर गीतका लागि भन्दा पनि घर खर्च चलाउन बढी संघर्ष गरिरहनु परेको छ । अनि तिलकसिंह पेलाहरु होइन, नरेश पातलीहरुको बजारमा डिमान्ड हुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com