काठमाडौँ । हामी आएको एक महिना भयो । सबैजना कृषिका विद्यार्थी ३ वटा विश्वविद्यालयबाट आएका हौं । अहिले हामी इजिप्टको बोर्डरनिरै ४५ जना छौं । यो गोलभेँडा फार्म हो । हामी बसेको ठाउँ अरुभन्दा सुरक्षित जस्तो देखिन्छ केही समयलाई ।
यहाँ आर्मीहरु घरिघरि आउँछन्, फार्म धनीहरु आउँछन् । हामीले उनीहरुलाई हामी यो ठाउँ सुरक्षित छौं भनेर सोध्दा ‘अहिलेसम्म सुरक्षित छौं तर अबको केही मिनेटमा के हुन्छ भन्न सक्दैनौं’ भन्छन् । अरु फार्ममा भएका विद्यार्थीहरु सबै हिजोदेखि बंकरमा छन् । के कसो छ भनेर फोनमा बुझ्दा पृष्ठभूमिमा बन्दुक पड्किरहेको सुनिन्छ । बंकरमा भएको खाना, पानी पनि सकिन लाग्यो भन्ने छ । पानी खाउँ भने पिसाब लाग्छ । पिसाब लाग्यो भने बाहिर जानुपर्छ भनेर पानी पनि नखाइकन बसेको अवस्था छ ।
सरकारी निकायसँग सिधा सम्पर्क भएको छैन । विश्वविद्यालयलाई दबाब दिइरहेका छौं । विश्वविद्यालयबाट पनि सरकारलाई दबाब दिनुपर्यो भनेर । अलिअलि दूतावाससँग कुराकानी भएको छ । तर दूतावासले पनि राम्रो रेस्पोन्स दिएको छैन । विश्वविद्यालयले पनि विज्ञप्ति निकालेर सुरक्षित स्थानमा रहन भनेको छ । यहाँ सुरक्षित स्थान नै छैन, जाने कहाँ ? कसैलाई पनि यहाँ बस्नै मन छैन । हामीलाई उद्धार चाहिएको हो । भारतले एउटा सेलिब्रिटीको लागि चार्टर्ड जहाज पठाएर उद्धार गर्यो । बेलायतले आफ्नो नागरिकको उद्धार गर्दै छ । हाम्रो देश चाहिँ पछि परेको छ ।
यहाँ सबै त्रसित छौं । यहाँकै मान्छेहरु बरु अरु देश जान सक्छन् । हामी यस्तो चेपुवामा पर्यौं कि न यहाँ बस्न सक्छौं न बाहिर निस्किन । यो देशलाई आक्रमण एक ठाउँबाट मात्रै भएको छैन । हिजो गाजा क्षेत्रमा प्यालेस्टाइनीहरुले मात्रै आक्रमण गरे भन्ने थियो । आज फेरि उत्तरी क्षेत्रमा लेबनानले आक्रमण सुरु गरेको छ । इरानसँग हिजोदेखिकै दुस्मनी थियो । सँगसँगै तालिवानहरु पनि इरानलगायत अन्य देशबाट इजरायलमा युद्ध गर्न अनुमति माग्दै छन् । इजिप्टसँग पनि पहिला नराम्रो सम्बन्ध थियो, अहिले पनि नराम्रो सम्बन्ध भयो भने इजिप्टले आक्रमण गर्न सुरु गर्यो भने बन्धक बन्ने हामी नै हो । हामी सीमा पार गर्न तीन मिनेटमात्रै हिँडे पुग्ने ठाउँमा छौं ।
न कुनै स्थान सुरक्षित छ । बंकरमा लुक्ने भनेको पनि स-साना फायरिङ रोक्नलाई हो । गाजा नजिकको क्षेत्रमा बंकरभित्र छिरेर पनि गोली प्रहार गरिरहेका छन् । यो फार्म ७० जनाजति जाम्बियाका विद्यार्थी छन् । १५० जनि थाइल्यान्डका कामदार छन् । ३५० जना कामदार भएको भएर फार्ममै पसल भएकोले अहिलेलाई दुःख छैन । तर अन्य फार्ममा १२ घण्टाभन्दा बढीलाई पुग्ने रासन पानी छैन भन्ने कुरा आएको छ ।
मिल्छ भने आफ्नै देशबाट जहाज चार्टर गरेर हाम्रो उद्धार होस् । हामी त्यो चाहन्छौं । नेपाल आफैंले सक्दैन भने अन्य देशको सहयोग मागेर भए पनि नेपालीको उद्धारको लागि कदम अगाडि बढायो भने खुसी हुन्छौं । सबै जनालाई आफ्नै घरमा फर्काइदियोस् । नेपाल सरकारले नै हो हामीलाई बचाउने अरुबाट केही आशा छैन ।
(कृषि वन विश्वविद्यलायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरुन्चौर, कास्कीका विद्यार्थी सुरज भण्डारीले यसरी सुनाए इजरायलको भयावह अवस्था)
इजरायलको बङ्करबाट उनै नेपाली विद्यार्थी सुरज भण्डारीको प्रधानमन्त्रीलाई मार्मिक पत्र
प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार
प्रतिक्रिया