काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एमाले निकट एक समुहले काठमाडौंमा कालोमोसो दलेका छन्।
आज राजधानीको एक होटलमा प्रसाईंले दिउँसो पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई ति व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।
ग्लोबल नागरिकलाई प्राप्त जानकारी अनुसार, एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको हो । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघको एक समूहले कालोमोसो दलेको हो ।
सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेको थियो । युवा संघका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको स्वीकार गरे ।
‘स्वतन्त्र युवाहरु दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध उत्रिएका रहेछन् । हाम्रा साथीहरु पनि त्यही हुनुहुँदो रहेछ, स्वतन्त्र युवाहरुको अभियानलाई राम्रो लागेर हाम्रो साथीहरुले पनि सहयोग गर्नुभएको हो’, उनले भने । स्वतन्त्र युवाहरुको अभियानलाई मन परेपछि युवा संघका कार्यकर्ताहरुले कार्यमा सहयोग गरेको उनको भनाइ छ ।
राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा प्रसाई संलग्न भएको दाबी गर्दै उनले स्वतन्त्र युवाहरुलाई युवासंघले सहयोग गरेर ठीक गरेको प्रतिक्रिया दिए ।
प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।
प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार
प्रतिक्रिया