काठमाडौं । सुन तस्करीको अनुसन्धान गरेर बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीको उद्गमस्थल ‘हङकङ’नै भएको ठहर गरेको छ।

सिआइबीले अनुसन्धानका क्रममा एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको थियो। त्यस क्रममा त्यहाँ चिनियाँ अधिकारीहरूसँगको सहकार्यमा उनले तस्करी भएको सुनको उद्गमस्थल हङकङ नै भएको पुष्टि गराएका थिए।

उनले त्यहाँबाट पहिचान गरेका मुख्य व्यक्तिहरू चिनियाँ नागरिक ली र लिन हुन्। ली र लिनले नेतृत्व गरेको पाँच जनाको समूहले नै नेपालमा सुन तस्करी गराएको थियो। उनीहरूले विद्युतीय उपकरणमा लुकाएर सुन नेपालमा पठाउने गरेको र पछिल्लो समय ब्रेक सुमा पठाउने गरेको खुलेको छ। क्यारी अन ग्लोबल लजिस्टिक कम्पनीमार्फत एयर कार्गो गरेर पठाइएको सामानमार्फत नेपालमा सुन आएको अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाले बताएका थिए।

तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको पनि माओवादी केन्द्रका केही नेता–कार्यकर्तासँग सम्पर्क भए पनि उनीहरूलाई छाडिएको छ। राहुल महरालाई भने हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

उनका अनुसार आइपुग्ने सुन रिसिभ गर्ने, गालेर गोदामसम्म पुर्‍याउने कामको नेतृत्व तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङले गरेका थिए। पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार सुन लुकाएर ल्याउने सामानहरू आयात गर्न थुप्तेनले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा सात वटा कम्पनीमार्फत भएको थियो।

६० किलो सुन आयात गर्ने ब्रेक सु ल्याउने रेडी ट्रेड दिलीप भुजेलका नाममा खोलिएको थियो। कुमार भुजेलका नाममा हवाडा इलेक्ट्रोनिक सप्लायर्स, रामकुमार भुजेलका नाममा भुजेल इन्टरप्राइजेज र पवटी इलेक्ट्रोनिक्स, सन्तोष तामाङका नाममा सरिता सप्लायर्स, लेकनाथ कार्कीका नाममा छुन्डुक इलेक्ट्रोनिक्स, बिकुन्द्र भुजेलका नाममा दोलखा इलेक्ट्रोनिक्स खोलिएको थियो। ती सबै कम्पनी सुन ल्याउन खोलिएको सिआइबीले जनाएको छ।

उनका अनुसार हङकङबाट सुन पठाएको खबर ली र लिनले थुप्पेनलाई दिने गरेको हर्कराज राईले भन्सार जाँचपास गर्ने गरेको पार्टपुर्जा लुकाएर ल्याएको सुन गाल्ने र बिस्कुटको आकार दिने काम पनि उनैले गर्ने गरेको सिआइबीले जनाएको छ। यसका लागि टोखा र लाजिम्पाटमा दुई वटा गोदाम थिए। टोखा गोदामको समूहको नेतृत्व एलेक्स पनि भनिने याओ पुचिङ र लाजिम्पाटको समूहको नेतृत्व सोङ चिङचुङआङले गरेको सिआइबीका एसपी थापाले जानकारी दिए।

सिआइबीले ६० किलो र ९किलो सुन तस्करीको अनुसन्धान सँगसँगै गरिरहेको छ। पछिल्लो पटक ५०जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको छ। तीमध्ये ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन्।

काठमाडौँको ठमेलमा होटेल भियना सञ्चालन गर्दै आएका दावा छिरिङलाई तस्करीको प्रमुख बिचौलियाको रूपमा प्रस्तुत गरेको छ। तर उनीहरूसँग जोडिएका माओवादी केन्द्रका उच्च नेताहरूबारे भने केही पनि नखुलेको प्रतिवेदनमा छ। तर दावा छिरिङसँग बिहे गरेकी माओवादी केन्द्रनिकट अमल रोकालाई भने प्रतिवादी बनाइएको छ। उनी फरार छिन्।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com