काठमाडौं । दक्षिण कोरियास्थित नेपाली दूतावासले सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ रहेका नेपाली समुदायसँग आर्थिक सहयोग मागेको छ । आज दक्षिण कोरियाको राजधानी सिओलमा हुने ‘नेपाल–कोरिया कल्चरल इभेन्ट’ का लागि निम्तासहित दूतावासले त्यहाँ रहेका ९ वटा नेपाली समुदायका संगठनसँग सहयोग रकम मागेको हो ।

गैर आवासीय नेपाली संघ, नेपाली सम्पर्क समिति, नेपाल आदिवासी जनजाति महासंघ, पूर्वाञ्चल सरोकार समाज, तराई मधेस समाज, बागमती प्रदेश समाज, गण्डकी प्रदेश समाज, कर्णाली प्रदेश समाज र सुदूरपश्चिम समाज कोरियालाई दूतावासले पत्र पठाएकाे छ । दूतावासका मिनिष्टर काउन्सेलर पुष्पराज भट्टराईका अनुसार, कार्यक्रम सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

नेपाली दूतावास, ग्लोबल मल्टिकल्चरल फेडेरेसन, जिउचेअन कल्चर र नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रम स्थानीय समयअनुसार दिउँसो साढे १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

दूतावासले आर्थिक सहयोग मागेको विषयमा कतिपयले आलोचनासमेत गरेका छन् । दूतावासकाे आधिकारिक लेटर हेडमा गरिएको निम्तामै सहयाेग मागेकाेप्रति धेरैले राेष प्रकट गरेका छन् ।

दूतावासले भने नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउन कार्यक्रमले ठूलो सहयोग पुर्‍याउने दाबी गरेकाे छ । आगामी वर्षका लागि तय गरिएको नेपाल-कोरिया बृहत् सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका लागि पनि यो कार्यक्रमले पृष्ठपोषण गर्ने भट्टराईले बताए ।

प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com