काठमाडौं । श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको खबर सुनेलगत्तै वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक बोहोरा शनिबार घर आइपुगेका छन् । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान बोकेर घर फर्किएकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र सात वर्षीया छोरी अप्सरा बोहोराको शव घरमा भेटिएको थियो । घर आएलगत्तै उनी भावविह्वल भएका छन् ।

दीपकले आफ्नो हरेक दिन दुई तीनपटक श्रीमतीसहित परिवारसँग भिडियो कल हुने गरेको सुनाए । उनले ८ कात्तिकमा भएको भिडियो कल नै अन्तिम भएको बताए । ‘त्यस दिन परिवारका सबै घर पुगिसकेपछि पनि मोबाइलमा लामो समय कुरा भएको थियो । श्रीमतीले भोलि बारीको सिमी उखेल्नुपर्ने छ, काम सकेपछि फेरि कुरा गरौँला भनेर भिडियो कलबाट दुवैजना छुट्टिएका थियौँ,’ दीपकले भने । श्रीमती श्रीदेवीको फेसबुक आइडीबाट ९ कात्तिक बेलुकी ५ बजेतिर म्यासेन्जरमा परिवारको फोटो सेन्ट भएको र लगत्तै आफूले दुईपटकसम्म कल गर्दा फोन नउठेको उनले सुनाए । केही समयपछि अर्को नम्बरमा फोन गर्दा पनि अफ भएको उनको भनाइ छ ।

 

प्रहरीले ८ कात्तिक राति नै हत्या भएको हुन सक्ने अनुमान गरेको छ । प्रहरीले १० कात्तिकमा मात्र घटनाको जानकारी पाएको थियो । श्रीदेवी आफ्ना तीन सन्तानसँग दसैँको टीका थाप्न माइतीगाउँ गएको छरछिमेकी सबैलाई जानकारी थियो । १० कात्तिक बिहानसम्म घरमा ताला लगाएको छिमेकीले देखेपछि उनकी माइजू रेशा बोहराले श्रीदेवीको माइतीघरमा फोन गरेर भान्जीको घरमा ताला लगाएको जानकारी गराएकी थिइन् । उताबाट चारैजना ८ कात्तिकमै आफ्नो घर फर्केको खबर आएपछि छिमेकीले ताला फोडेर घरभित्र हेर्दा चारैजनाको शव देखेपछि तत्कालै प्रहरीलाई फोन गरेर जानकारी गराएको छिमेकी भक्तबहादुर बोहराले बताए ।

प्रहरीले घटनास्थल सिल गरी अनुसन्धानको काम अगाडि बढाए पन िअपराधीको नजिक प्रहरी पुग्न नसकेको छायाँनाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले बताए । प्रहरी टोलीले घटनाको मुचुल्कालगायत अन्य अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । नेपालगन्जबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान गरिरहेको प्रहरीले थप अनुसन्धानका लागि नेपालगन्ज, सुर्खेत र जुम्लाबाट प्रहरी अधिकृतलगायतको टोली झिकाएको छ  । प्रहरीले अनुसन्धानका सबै प्रक्रिया अपनाएर अपराधीलाई ढिलोचाँडो समातेरै छोड्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए ।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com