काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने कानूनी उपचार खोज्न साइबर ब्यूरो जाने भएका छन् । आफूबारे सार्वजनिक टेलिभिजन कार्यक्रममार्फत दिइएको अभिव्यक्तिलाई लिएर लामिछाने नेपाल प्रहरीको साइबर ब्यूरो जाने भएका हुन् ।

गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा अतिथिका रूपमा आएकी सावित्री सुवेदी ‘जयनारी’ले लामिछानेलाई बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्रीले उनीमाथि गम्भीर टिप्पणी गर्दै वध गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएकी थिइन् ।

बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएकाले कानूनी उपचार खोज्‍ने तयारी भइरहेको लामिछानेका कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

“कार्यक्रममा आएको उक्त अभिव्यक्ति एउटा विषयमात्र नभएर धेरै कानूनविपरीत छ,” टेकपानासँग कुरा गर्दै घिमिरेले भने, “विचाराधीन मुद्दाबारे सार्वजानिक रूपमा बोल्न अदालतले रोकेको छ । वाक स्वतन्त्रता विरुद्ध गएर सार्वजानिक रुपमा कसैको हत्या गर्नुपर्ने अभिव्यक्ति छ । राष्ट्रका लागि खेलिरहेको खेलाडी र परिवारको मानसिक पीडाका कुराहरू छन् । मुद्दा नै प्रभावित बनाउने अभिव्यक्ति आएको छ । यसो हुँदा अहिले हाम्रो समूहले डकुमेन्ट गरिरहेको छ ।”

घिमिरेले कार्यक्रम निर्माता, प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेकाे जानकारी दिए ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com