काठमाडौं । नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्पले पुर्‍याएको जनधनको क्षतिप्रति भारतले दुःख व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःखको यस घडीमा आफ्नो देश नेपालको साथमा रहेको र आवश्यक सबै सहायता उपलब्ध गराउने बताएका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि भारतले नेपाललाई सहायता उपलब्ध गराएको थियो । यद्यपि, लगत्तै भएको नाकाबन्दीका कारण उसले नेपालसँगै अन्य देशबाट समेत आलोचना खेप्नुपरेको थियो ।

गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनका साथमा स्वास्थ्यकर्मीकाे टिम पनि गएकाे छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com