काठमाडौं । लगातार विवादमा तानिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुने भएका छन्।

जथाभावी नबोल्न पटक-पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका प्रसाईंलाई प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन भनेका हुन्।

उनीविरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको प्रहरी स्रोतले बतायो।

बैंकको ऋण नतिर्ने बरु उल्टै प्रतिरोध दस्ता खडा गरेर बैंकका कर्मचारीमाथि जाइलाग्ने जस्तो गैरकानुनी सार्वजनिक अभिव्यक्ति र क्रियाकलाप गरेपछि उनलाई प्रक्राउ गर्नुपर्ने दबाब भए प्रहरीले नियन्त्रणमा लिएको छैन।

ऋण नतिर्ने अभियानसँगै एमाले छाडेर राजसंस्था पुनःस्थापनको अभियानमा पनि प्रसाईंले थालेका छन्। उनका गतिविधिलाई नियन्त्रण गर्ने विषयमा शीर्ष राजनीतिक तहका कुराकानी हुँदै आएको छ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दसैँ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रसाईंका गतिविधिलाई नियन्त्रण गर्न आग्रह गरेका थिए।

उनले गणतन्त्रलाई नै चुनौति दिन थालेकाले चुप बस्न नहुने भन्दै ओलीले पक्राउ गरेर कानुनी दायरामा ल्याउन भनेको दाहालले आफ्नो पार्टीका नेताहरूसँग ब्रिफिङ गरेका थिए। उक्त तथ्य देशसञ्चारमाफत् सार्वजनिक भएपछि अध्यक्ष ओलीले आफूले कसैलाई पक्राउ नगर्न बिन्ती नबिसाएको दाबी गरेका छन्।

एमालेका अरु नेताहरूले पनि प्रसाईंलाई नियन्त्रणमा दिन आफ्नो पार्टीले नभनेको दाबी गर्दै आएका छन्। तर ओलीले यसअघि प्रसाईंका गतिविधि सरकारले नियन्त्रण नगरे जनताले प्रतिवाद गर्ने बताएका थिए। युवासंघको कालोमोसेलाई उनको यहीँ अभिव्यक्तिसँग जोडेर हेरिएको छ।

प्रसाईंले एमाले छाडेपछि अध्यक्ष ओली, नेता महेश बस्नेतविरुद्ध चर्को अभिव्यक्ति दिँदै आएका छन्। युवासंघले कालोमोसे दलेपछि उनी आली र एमालेविरुद्ध थप आक्रामक देखिएका छन्।

प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको बताएपछि ओली र एमाले पंत्ति क्रुद्ध छ। अरु पार्टीमा पनि प्रसाईंका अभिव्यक्ति र गतिविधिले कानुनलाई नै चुनौती दिइरहेकाले सरकारको मौनतामाथि प्रश्न गर्दै आएका छन्।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com