काठमाडौँ । जाजरकोट केन्द्र भएर शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा गोरखबहादुर सिंहले दुई छोरी गुमाए । मस्त निन्द्राको समयमा सँगै बस्दै आएका एक आफन्तको पनि ज्यान गयो ।

गोरख आफै, श्रीमती र एक छोरी पनि घाइते छन् । गोरख र उनकी श्रीमतीको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते अवस्थामा रहेकी एक छोरीको नेपालगञ्जमा उपचार हुँदैछ । गोरख सदरमुकाम खलंगामा श्रीमती, तीन छोरी र एक आफन्तको छोरीसँगै बस्दै आएका थिए।

शुक्रबार मध्यरातमा आएको भूकम्पले घर भत्काउँदा उनीहरू भग्नावशेषमा पुरिए । रातिको समयमा भूकम्प गएका कारण लामो समय उद्धार हुन सकेन । घरको भग्नावशेषबाट उनीहरूको चार घण्टापछि मात्र उद्धार भएको गोरखका भाइ सुरेन्द्र (सुमन) सिंहले जानकारी दिए । उद्धार भइसक्दा तीन जनाको मृत्यु भइसकेको थियो भने तीन जना घाइते अवस्थामा थिए ।

सुरेन्द्र बारेकोट गाउँपालिकामा थिए, भूकम्पपश्चात् टेलिफोन सम्पर्कविच्छेद भएपछि वस्तुस्थिति बुझ्न पाएनन् । उनी घटनाको जानकारी पाएलगत्तै सदरमुकाम खलंगा झरेका थिए । घाइते गोरखको अवस्था भने सुधारोन्मुख रहेको सुरेन्द्र बताउँछन् । सन्तान वियोगका कारण गोरखकी श्रीमती मूर्छित् अवस्था रहेको उनी सुनाउँछन् ।

गोरखकी माहिली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तयारीमा थिइन् । सम्पूर्ण प्रक्रिया सकेर उनी भिसाको प्रतीक्षामा रहेको सुरेन्द्र बताउँछन् । एमबीबीएस पढ्ने तयारी गरिरहेकी कान्छी छोरी, १८ वर्षीया ऊर्जा सिंह आगामी पढाइको तयारीमा थिइन् । उनीहरूसँगै बस्दै आएकी २५ वर्षीया मेलिना भने इन्जिनियरिङ गर्दै थिइन्। उनीहरूको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

जेठी छोरी नेपालगन्जमा उपचाररत छिन् । उनको नेपालगन्जमा उपचार भइरहेको भए पनि अवस्था जटिल नै रहेको उनी सुनाउँछन् । समयमै उपचार हुन सकेको भए उनीहरूको ज्यान जोगाउन सकिने सुरेन्द्रको भनाइ छ । ‘समयमै उद्धार हुन सकेको भए सबै जना बाँच्थे होलान् । सममै उद्धार हुन नसक्दा उनीहरूलाई गुमाउनु पर्‍यो’, उनले भने । मृतक तीनै जनाको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com